ट्रेन्डिङ

वीरगन्जको शाह पाराडाइज होटलबाट भारतीय बुबा–छोराको शव निकालियो, प्रहरीद्वारा अनुसन्धान जारी

वीरगन्ज । वीरगन्जको भानु चोकस्थित होटल शाह पाराडाइजको कोठाभित्र मंगलबार बेलुकी मृत अवस्थामा भेटिएका भारतीय बुबा र छोराको शव प्रहरीले आज बिहान कोठाबाट निकालेर नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको छ।

नयाँ बसपार्क नजिकै रहेको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा भारत, कोलकाता, त्रिपुराका ६७ वर्षीय सजल आचार्जी र उनका २४ वर्षीय छोरा सागर आचार्जी मृत भेटिएका थिए। पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले दिएको जानकारी अनुसार, असोज १९ गतेदेखि कोठामा बास बसेका बुबा–छोरा मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटलका कामदार बोलाउन गएका थिए। कोठा भित्रबाट बन्द रहेकाले ढोका नखुलेपछि छेउकै कोठाको भेन्टिलेटरबाट हेर्दा उनीहरू मृत अवस्थामा देखिएका थिए।

बेलुकी ७ः३० बजेतिर होटल सञ्चालकले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले पनि भेन्टिलेटरबाट हेर्दा बुबा सजल ओछ्यानमा र छोरा सागर सिलिङ पंखामा झुन्डिएको अवस्थामा देखिएका थिए। रात परेकाले प्रहरीले मंगलबार राति ढोका फोरेको थिएन।

तर, आज बिहान करिब ७ः३० बजेतिर प्रहरीले कोठाको लक ताडेर भित्र प्रवेश गर्दा ६७ वर्षीय सजल ओछ्यानमा घोप्टो परेको अवस्थामा र उनका छोरा सागर सिलिङ पंखामा झुन्डिएको अवस्थामा भेटिएका थिए। डीएसपी लम्सालका अनुसार ओछ्यानमा मृत भेटिएका बुबा सजलको घाँटीमा नील डाम देखिएको छ।

दुवै शव पोष्टमार्टमका लागि पठाइएको र रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने डीएसपी लम्सालले बताए। घटनाको विषयमा प्रहरीले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा पनि अनौपचारिक रूपमा जानकारी गराइसकेको र थप अनुसन्धान जारी रहेको उनले बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै