ट्रेन्डिङ

गाजामा युद्धविरामको आशाः इजरायल–हमास वार्ता सकारात्मक

वीरगन्ज । इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन ‘सकारात्मक’ रुपमा सम्पन्न भएको छ।

यो वार्ता ठीक दुई वर्षअघि अर्थात् अक्टोबर ७, २०२३ मा सुरु भएको इजरायल र प्यालेस्टाइनको हालको युद्धको वार्षिकीको सन्दर्भमा भएको छ, जसले गाजामा जारी युद्धविराम र बन्धक मुक्तिको सम्भावनालाई थप बल पुर्‍याएको छ।

अलजजीराले जनाएअनुसार, मध्यस्थकर्ताहरूको अगुवाइमा भएको यस वार्ताले युद्धबाट त्रसित क्षेत्रमा शान्तिको नयाँ आशा जगाएको छ।

इजिप्टेली अधिकारीहरूका अनुसार वार्तामा दुवै पक्ष प्रत्यक्ष रूपमा एउटै कोठामा उपस्थित थिएनन्। उनीहरूबीच इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले सन्देश आदानप्रदान गरेका थिए, जसमा अमेरिकी अधिकारीहरू पनि अप्रत्यक्ष रूपमा संलग्न थिए।

इजिप्टेली कूटनीतिक स्रोतहरूले वार्ताको पहिलो दिनमा दुई पक्षबीच दुई मुख्य विषयमा ‘साझा बिन्दुहरू’ भेटिएको बताएका छन् ।
मानवीय सहायता गाजामा सहज रूपमा पुग्ने व्यवस्था मिलाउनु पर्ने र बन्धक आदानप्रदान प्रक्रियामा विश्वास कायम गर्नु पर्ने विषयमा साझा बिन्दु भेटिएको जनाइएको छ ।

यस वार्तामा नेपाली नागरिक विपिन जोशी लगायत हमासको कब्जामा रहेका सम्पूर्ण बन्धकहरूको रिहाइलाई पहिलो शर्त बनाइएको छ। विभिन्न चरणमा बन्दी रिहाइ हुँदा पनि विपिन जोशी भने अझै हमासकै कब्जामा रहेको मानिएको छ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार, हमासले युद्धविरामको प्रस्तावसँगै केही महत्त्वपूर्ण मानवीय सर्तहरू अघि सारेको छ। तीमध्ये मुख्य मागहरूमा इजरायली सेना गाजाको उत्तरी भागबाट फिर्ता हुनुपर्ने, नाकाबन्दी खुकुलो पारिनुपर्ने, अस्पताल तथा राहत संरचनामाथिको आक्रमण रोक्नुपर्ने जस्ता माग अघि सारेका छन् ।

यता, इजरायली पक्षले भने आफ्नो मुख्य प्राथमिकता बन्धकहरूको मुक्तिलाई दिएको छ। इजरायलको अडान छ, ‘जबसम्म बन्धकहरू सुरक्षित रूपमा फर्काइँदैनन्, पूर्ण युद्धविरामको प्रश्न उठ्दैन।’ तर मध्यस्थकर्ताहरूले दुवै पक्षलाई ‘मानवीय स्थिरता’ कायम गर्न आग्रह गरेका छन्।

कतार र इजिप्टले वार्ताको दोस्रो चरण शुक्रवारका लागि तय गरेको जनाइएको छ। त्यस दिनको बैठकमा बन्धकहरूको नामसूची र सम्भावित चरणबद्ध युद्धविरामको योजनाबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

अक्टोबर ७ को त्रासदीपूर्ण वार्षिकीमा सुरु भएको यो वार्ताले गाजा र मध्यपूर्वमा स्थायी शान्ति र बन्धकहरूको सुरक्षित घर फिर्तीका लागि एउटा महत्त्वपूर्ण कूटनीतिक पहलको सुरुवात गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै