वीरगन्ज । पहिलो खेलमा व्यहोरेको पराजयको बदला लिँदै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट पुनरागमन गरेको छ।
दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै शृङ्खला १–१ को बराबरीमा ल्याएको छ।
कुआलालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएको थियो। मलेसियाका लागि आइना हमिजाले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपाली बलरतर्फ सोमु विष्टले २ र कविता कुँवरले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात भने निराशाजनक थियो। खाता नखोलीकनै नेपालले शून्य रनमा २ महत्त्वपूर्ण विकेट गुमाएको थियो। तर, त्यसपछि क्रिज सम्हाल्न आएकी पूजा महतो र रुबी पोद्दारले तेस्रो विकेटका लागि ४३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई संकटबाट जोगाए।
महतोले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै सर्वाधिक ३९ रन बनाइन्। त्यसपछि उनले कप्तान इन्दु बर्मासँग मिलेर ३७ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरिन्। कप्तान बर्माले २७ रनमा अविजित रहँदै नेपाललाई १६.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गराइन्।
मलेसियाका लागि आयना हमिजाले २ तथा नुर दानिया स्युहादा र नुर आलियाले १–१ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।
यस जितसँगै नेपालले शृङ्खलामा बराबरी गरेको छ। अब तेस्रो खेल आइतबार हुनेछ।