ट्रेन्डिङ

भारी वर्षाको जोखिम : रात्रिकालीन सवारीमा रोक लगाउने पर्सा प्रशासनको तयारी, सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

वीरगन्ज । भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोय नारायण सुवेदीको अध्यक्षतामा बसेको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको संयुक्त बैठकले आजदेखि असोज २० गतेसम्म मौसमसम्बन्धी उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रजिअ सुवेदीले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई बाटोमा अलपत्र पर्नबाट जोगाउन रातिको समयमा गाडी सञ्चालन नगरिने बताए। यस सम्बन्धमा चितवन, मकवानपुर र धादिङ जिल्लाका प्रजिअहरूसँग पनि समन्वय भइरहेको छ। ती जिल्लाहरूसँगको छलफलपछि राति कति बजेदेखि गाडी सञ्चालनमा पूर्ण रोक लगाउने भन्ने अन्तिम समय तोकेर औपचारिक सूचना जारी गरिने उनले जानकारी दिए।

यसैबीच मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनहरूका लागि समयसीमा निर्धारण गरिने भएको छ । कुलेखानी हुँदै काठमाडौँ जाने टाटासुमो र अन्य साना गाडीले साँझ ५ बजेभित्र मकवानपुरबाट अनिवार्य रूपमा छोडिसक्नुपर्नेछ। त्यसैगरी, कान्तिलोकपथ हुँदै काठमाडौँ जाने सुमोलाई साँझ ४ बजेभित्र र भौसे हुँदै जाने गाडीहरूलाई पनि साँझ ५ बजेभित्र मकवानपुरबाट पठाइसक्नुपर्ने समय तोकिएको छ।

यात्रुहरू बिच बाटोमै अलपत्र पर्न सक्ने अवस्थाको मूल्याङ्कन गरी यो समयसीमा तोकिएको प्रजिअ सुवेदीले बताए। यसको पालना गर्दै, वीरगन्जबाट काठमाडौँका लागि छुट्ने गाडीहरूलाई निर्धारित समयभन्दा डेढदेखि दुई घण्टा अगाडि नै पठाइसक्न यातायात व्यवसायीलाई निर्देशन दिइएको छ।

मौसम पूर्वानुमान शाखाको सूचनालाई गम्भीरताका साथ लिँदै पर्सामा सम्भावित विपद् जोखिम न्यूनीकरण, सहयोग र उद्दारका लागि सम्पूर्ण सुरक्षा निकायलाई ‘तयारी अवस्थामा’ राखिएको छ। प्रजिअ सुवेदीका अनुसार उद्दार कार्यमा चाहिने डुङ्गा तयारी र अन्य उद्दार सामग्रीहरूको व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन सबै सरोकारवाला निकायहरू सक्रिय छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै