वीरगन्ज । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा वेस्ट इन्डिज जस्तो पूर्ण सदस्य राष्ट्रलाई एक खेल अगावै पराजित गर्दै इतिहास रचिसकेको नेपाल आज ‘क्लिन स्विप’को खोजीमा उत्रँदैछ।
तीन खेलको शृंखला अन्तर्गत आज मंगलबार हुने तेस्रो तथा अन्तिम खेल यूएईको शारजहाँ क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ।
कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपालले पहिलो खेलमा १९ रन र सोमबार सम्पन्न दोस्रो खेलमा ९० रनको फराकिलो जित दर्ता गर्दै शृंखलामा २–० को अग्रता लिइसकेको छ। वेस्ट इन्डिजमाथिको यो ऐतिहासिक जित नेपालको क्रिकेट इतिहासमा पूर्ण सदस्य राष्ट्रविरुद्धको पहिलो द्विपक्षीय शृंखला विजय हो।
सोमबारको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले अविजित ६८ रन (४७ बल) र सन्दीप जोराले ६३ रन (३९ बल) को सानदार अर्धशतकीय पारी खेले।
यी दुईबीच चौथो विकेटका लागि १०० रनको महत्वपूर्ण साझेदारी भएको थियो। जवाफमा १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमै समेटियो। वेस्ट इन्डिजका जेसन होल्डर २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४ विकेट लिए भने कुशल भुर्तेलले ३ विकेट हात पारेका थिए। दीपेन्द्रसिंह ऐरी, करण केसी र ललितनारायण राजवंशीले पनि १–१ विकेट लिए।
अब ‘क्लिन स्विप’ गर्ने लक्ष्यका साथ नेपाल आज आसिफ शेख, सन्दीप जोरा, मोहम्मद आदिल आलम लगायतका खेलाडीहरूलाई लिएर मैदान उत्रिनेछ।
यता, अकिल हुसेनको कप्तानीमा रहेको वेस्ट इन्डिज भने शृंखलामा सात्वना जित हासिल गर्ने सोचमा छ। वेस्ट इन्डिजलाई जेसन होल्डर, कायर मायर्स, अकिम अगस्टे जस्ता अनुभवी खेलाडीहरूको साथ रहनेछ।