वीरगन्ज । वेस्ट इन्डिजसँगको रोमाञ्चक टी–२०आन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ। शारजाह क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ।
पहिलो खेलमा ऐतिहासिक जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाली टोली आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै एक खेल अगावै शृंखला आफ्नो नाममा पार्ने योजनाका साथ मैदान उत्रिनेछ।
पहिलो खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सन्तुलित तथा उत्कृष्ट प्रदर्शन गरेको थियो। कप्तानसहित सबै खेलाडीले आ–आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गर्दा नेपालले एक बलियो टेस्ट राष्ट्रलाई पराजित गर्न सफल भयो।
आजको खेलमा पनि जित सुनिश्चित गर्न नेपालले सोही स्तरको ‘अलराउन्ड’ प्रदर्शन दोहोर्याउनुपर्ने चुनौती छ। वेस्ट इन्डिज भने शृंखलामा फर्किनका लागि पूरै शक्ति लगाएर खेल्नेछ।
यो शृंखलाको तेस्रो तथा अन्तिम खेल भोलि मंगलबार खेलिनेछ। तर, नेपाल आजको खेल जितेर क्रिकेट इतिहासमा एउटा अर्को स्वर्णिम अध्याय थप्न आतुर छ।