ट्रेन्डिङ

सशस्त्र प्रहरीले भन्यो – चाडपर्वका सुरक्षा संकट र अवैध चोरीपैठारीबारे सूचना दिइ सहयोग गर्नुहोस्

काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्र तथा चाडपर्वका सुरक्षा सङ्कट र सामानको अवैध चोरीपैठारी भइरहेको जानकारी पाए सूचना दिन अपिल गरेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले सूचना जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

उनले ‘देश रहे हामी रहन्छौँ’ भन्ने यथार्थलाई मनन गरी राजस्व चुहावट नियन्त्रणलाई राष्ट्र भावसँग जोडेर हेर्नुपर्ने बताए । भन्सार शुल्क तिरेर मात्र अन्तर्राष्ट्रिय सीमाबाट सामान ओसारपसार गर्ने बानी बसाल्न तथा अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न वा भए–गरेको पाइएमा सूचना दिई सहयोग गर्न उनले आग्रह गरेका छन् ।

यस प्रकारका गतिविधिबारे जानकारी पाए सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४, केन्द्रीय प्रवक्ताको नम्बर ९८५१२७२००७, सीमा हटलाइन नम्बर ९८५१२६०७३० र केन्द्रीय अनुगमन नम्बर ९८५१२६१२०० मा सम्पर्क गरेर जानकारी दिन नागरिकमा अनुरोध गरिएको छ ।

साथै सीमा अपराधलगायत राजस्व छलीमा सशस्त्र प्रहरी बलका कुनै कर्मचारी संलग्न भएको पाइएमा समेत उल्लेखित नम्बरमा सूचना दिई सहयोग गर्न सशस्त्र प्रहरीको अनुरोध छ ।

सम्पूर्ण नेपालीहरूले भाइचारा तथा राष्ट्रिय एकताको भावनासहित वृद्धि एवं देशमा शान्ति सुव्यवस्थाको कामना गर्दै सामाजिक मेलमिलापसहित पर्व मनाउने विश्वास व्यक्त गर्दै उनले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रणमा सहयोग, विपद् उद्धार व्यवस्थापनलगायत नेपाल सरकारले समयसापेक्ष दिएको जिम्मेवारीलाई प्रभावकारी ढङ्गले निर्वाह गर्न सशस्त्र प्रहरी बल, नेपाल तपाईँहरूमाझ अहोरात्र परिचालन भइरहेको पनि जानकारी गराए ।

विपद् उद्धारमा सशस्त्र प्रहरी बल हरेकपल आमजनसमुदायसँगै रहेको सन्दर्भमा विगतमा सेती नदीको गहिरो खोचदेखि गोक्यो हिमतालको चिसोसम्मका उद्धारको घटना स्मरण गर्दै मनसुनको समय नसकिएको र देशको विविध भागमा आएको बाढीपहिरोका कारण लोकमार्गहरू अवरुद्ध रहेकाले यात्रा गर्ने रुटको पर्याप्त जानकारी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि अनुरोध गरिएको छ ।

चाडपर्व अवधिभर सीमा सुरक्षा विभाग प्रमुखलगायत सबै बाहिनी तथा सीमा इलाकामा परिचालित सबै युनिट प्रमुखहरू राजस्व चुहावट नियन्त्रणमा सक्रिय रूपमा खटिएका जानकारी दिँदै महानिरिक्षक धौवजीले आयातमुखी राजस्वमा निर्भर रहेको देशको अर्थतन्त्रलाई बलियो बनाउन राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी रहेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै