
बीरगन्ज । स्रोत नखुलेको झण्डै १२ लाख रकमसहित महोत्तरीबाट एक जना पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर ६ स्थित भोल्ही चोकबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी महोत्तरी तथा मातहतबाट समेत खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ६ सम्सी गाउँ बस्ने ४२ वर्षका शेष हसमत अलि रहेका छन् ।
प्रहरीले शंका लागि जाँच गर्ने क्रममा शेष हसमतले लुकाइछिपाइ राखेको अवस्थामा विभिन्न दरका रुपैँया बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट एक हजार दरका १ हजार १ वटा, पाँच सय दरका ३०० वटा, एकसय दरका ३०१ र ५० दरका ५ वटा तथा भारतीय रुपैँया ५० दरका एक वटा गरी जम्मा ११ लाख ८१ हजार ३०० रुपैँया फेला परेको हो । साथै प्रहरीले उनी सवार प्र ०२–००५ प ५९९५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकालाई हुण्डी कारोबार सम्बन्धि मुद्दा दर्ता गरी महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।