वीरगन्ज । पर्सा जिल्लामा फेरि झाडापखाला तथा शंकास्पद हैजाका विरामी बढ्न थालेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार शनिबारदेखि सोमबारसम्म मात्रै ८८ नयाँ केस फेला परेका छन्। शनिबार २७, आइतबार ३३ र सोमबार २८ जना नयाँ विरामी दर्ता भएका छन्।
हालसम्म जिल्लाभर कुल १,५१२ जनामा झाडापखाला वा शंकास्पद हैजाको संक्रमण पुष्टि भएको छ। तीमध्ये १,४७९ जना उपचारपछि घर फर्किसकेका छन् भने ३३ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्। पछिल्लो एक महिनामा २४० जनामा हैजा पुष्टि भएको र हालसम्म ४ जना मात्र अस्पतालमा उपचाररत रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
हटस्पटमा संक्रमण पुनः सक्रिय
वीरगन्ज महानगरपालिका–१५ लाई हैजाको मुख्य ‘हटस्पट’ क्षेत्रका रूपमा चिनाइएको छ। भदौ ६ गते पहिलोपटक यहाँका बिरामीमा हैजा देखिएको थियो। सरकारी निकायको सक्रियतापछि संक्रमण केही समय नियन्त्रणमा आएको भए पनि जेनजी आन्दोलनका कारण पछिल्लो हप्ता स्वास्थ्य टोलीको गतिविधि सुस्त हुँदा संक्रमण फेरि बढ्न थालेको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।
पियुस प्रयोग नगर्ने प्रवृत्तिले समस्या गहिरो
जनस्वास्थ्य कार्यालयका अनुसार खानेपानीमा पियुस (कोलोरिन) मिसाएर मात्रै सेवन गर्न अनुरोध गरिएको भए पनि धेरैले प्रयोग नगरेका कारण संक्रमण पुनः फैलिएको हो। “डीप बोरिङको पानीमा पियुस मिसाउँदा सन्तान नहुने भन्ने भ्रमका कारण मानिसहरूले औषधि प्रयोग नगरी पानी सेवन गरिरहेका छन्,” ठाकुरले बताए।
धार्मिक गुरुहरूलाई अभियानमा उतार्ने तयारी
जनचेतना अभावका कारण पियुसको प्रयोग कम भएपछि जनस्वास्थ्य कार्यालयले नयाँ रणनीति तयार पारेको छ। मंगलबारदेखि धार्मिक गुरुहरूलाई समुदायमा पठाएर पानीमा पियुसको प्रयोग गर्न आग्रह गर्ने योजना बनाइएको छ।
स्वास्थ्यकर्मीका अनुसार खानेपानीको हाहाकारकै कारण डीप बोरिङ र खानेपानी संस्थानको पानीमा प्रदूषण बढेको छ, जसले हैजा फैलिने जोखिम अझ बढाएको छ। जनस्वास्थ्य कार्यालयले हरेक घरमा पियुसको नियमित प्रयोग र सुरक्षित खानेपानीको आपूर्ति नै हैजा नियन्त्रणको दीर्घ समाधान हुने जनाएको छ।