ट्रेन्डिङ

आज मन्त्रिपरिषद विस्तार हुँदै, स्वास्थ्यमन्त्रीमा सिफारिस डा. संगीता मिश्राको नाम ‘होल्ड’

वीरगन्ज । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राको नाम फिर्ता लिने तयारी गरेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचारको आरोपमा छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री कार्कीले यो कदम चालेको स्रोतले बताएको छ। यसअघि आइतबार मात्रै प्रधानमन्त्री कार्कीले डा. मिश्रालाई स्वास्थ्य मन्त्रीको रूपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीले आइतबार डा. मिश्रासहित महावीर पुन (शिक्षा, विज्ञान तथा प्रविधि), अनिलकुमार सिन्हा (उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार), डा. मदन परियार (कृषि) र जगदीश खरेल (सञ्चार, सूचना तथा प्रविधि)लाई मन्त्रीमा सिफारिस गरेकी थिइन्।

तर, डा. मिश्राको नाम विवादित भएपछि आइतबार मन्त्रिपरिषद् विस्तार हुन सकेन। राष्ट्रपति कार्यालय स्रोतले ‘विवादित पात्र’को नाम सिफारिस भएपछि प्रधानमन्त्रीलाई ‘होल्ड’ गर्न सुझाव दिइएको बताएको छ। आज दिउँसो २ बजे शपथ ग्रहण गर्ने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ, तर यसमा फेरबदल हुने सम्भावना बढेको छ।

स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेपछि डा. मिश्राले आइतबार नै स्वास्थ्य सेवाको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। उनी यसअघि पनि स्वास्थ्य सचिव हुन नपाएको झोकमा ६ महिनादेखि बिदामा थिइन्। गत फागुनमा स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन्।

हालै जेनजी आन्दोलनका कारण तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राजीनामा दिएपछि मात्रै १२औँ तहकी अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किएकी थिइन्।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मिश्राले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट लगायतका महत्त्वपूर्ण पदहरूमा काम गरिसकेकी छन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै