वीरगन्ज । पर्सा जिल्लामा एक महिनाअघि नियन्त्रणमा आएको हैजाको संक्रमण फेरि बढ्न थालेको छ।
शनिबार मात्रै जिल्लामा २७ जना झाडापखाला तथा शंकास्पद हैजाका बिरामी फेला परेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, नयाँ भेटिएका बिरामीमध्ये ४ जनामा हैजा पुष्टि भइसकेको छ। यी बिरामीहरू वीरगन्ज महानगर र पोखरिया नगरपालिकाका हुन्।
विगत एक महिनाको अवधिमा पर्सामा कुल १,४५१ जना झाडापखाला तथा शंकास्पद हैजाका बिरामीहरू अस्पताल भर्ना भएका थिए। तीमध्ये १,४२१ जना निको भएर घर फर्किसकेका छन्, जबकि ३० जनाको अझै उपचार भइरहेको छ।
यसैगरी, सोही अवधिमा २३७ जनामा हैजा संक्रमण पुष्टि भएकोमा २३३ जना निको भएका छन् र चार जनाको उपचार जारी छ। आइतबार पनि नयाँ केसहरू देखिएका छन्, जसको विवरण संकलन भइरहेको छ।
नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहले खानेपानीको प्रयोगमा लापरवाही गर्दा संक्रमण फेरि फैलिएको बताएका छन्। उनका अनुसार सुरुमा सबैले सतर्कता अपनाए पनि बिरामीको संख्या घट्न थालेपछि मानिसहरू लापरवाह बनेका थिए।
भदौ ६ गते वीरगन्ज–१२, मुर्लीमा पहिलो पटक हैजा देखिएको थियो। त्यसबेला सरकारले वितरण गरेको पानी र डीप बोरिङको पानीका कारण संक्रमण फैलिएको चिकित्सकहरूले बताउँदै आएका छन्, तर सरकारी निकायले भने अहिलेसम्म यसको स्रोत पत्ता लगाउन सकेको छैन।