ट्रेन्डिङ

ट्रम्पको चेतावनीपछि तालिबानद्वारा कडा जवाफ : विदेशी सेनाको उपस्थिति सह्य छैन

वीरगन्ज । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँग बगराम एयरबेस फिर्ताको माग गरेपछि तालिबान सरकारले कडा प्रतिक्रिया दिएको छ।

तालिबानी अधिकारीहरूले आफ्नो भूमिमा विदेशी सेनाको उपस्थिति स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

ट्रम्पले शनिबार ‘ट्रुथ सोसल’ मा लेख्दै बगराम एयरबेस अमेरिकालाई नफर्काए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। उनले बिहीबार बेलायती प्रधानमन्त्री कीर स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा पनि बगराम एयरबेसलाई चीनको आणविक प्लान्टबाट एक घण्टाको दूरीमा रहेको रणनीतिक महत्वको स्थान बताएका थिए। शनिबार पत्रकारहरूसँगको कुराकानीमा उनले अमेरिकी सेना पठाएर बेस कब्जा गर्ने योजनाबारे सिधा जवाफ दिन अस्वीकार गरे पनि, ‘यदि यो फर्किएन भने म के गर्छु, तपाईंले देख्नुहुनेछ,’ भन्दै धम्की दिएका थिए।

तालिबान सरकारको परराष्ट्र मन्त्रालयका अधिकारी जाकिर जलालले ट्रम्पको माग अस्वीकार गर्दै भने, ‘अफगानिस्तान र अमेरिकाबीच आपसी सम्मानका आधारमा राजनीतिक र आर्थिक सम्बन्ध बनाउन सकिन्छ, तर अमेरिकी सैनिक उपस्थिति कतै पनि स्वीकार्य हुँदैन।’ उनले एक्समा लेख्दै अफगानिस्तानले इतिहासमा कहिल्यै विदेशी सेना स्वीकार नगरेको र दोहा सम्झौतामा पनि यो कुरा स्पष्ट पारिएको बताएका छन्।

चीनले पनि ट्रम्पको धम्कीको विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय तनाव बढाउने कुनै पनि कदमलाई समर्थन नगरिने बताए। उनले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गरिनुपर्नेमा जोड दिए।

सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि तालिबानले बगराम एयरबेससहित सबै अमेरिकी सैनिक केन्द्रहरू कब्जा गरेको थियो। विज्ञहरूका अनुसार, बगराम एयरबेसलाई पुनः नियन्त्रणमा लिनु अमेरिकाका लागि निकै महँगो र जटिल काम हुनेछ, जसमा ठूलो संख्यामा सेना र उन्नत सुरक्षा प्रणालीको आवश्यकता पर्नेछ। यसका अतिरिक्त, इस्लामिक स्टेट, अलकायदा र इरानबाट समेत सम्भावित आक्रमणको खतरा रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै