ट्रेन्डिङ

अमेरिकाद्वारा इजरायललाई ६ अर्ब डलरका हतियार बिक्री प्रस्ताव, मानवीय संकट झन् बढ्ने चिन्ता

वीरगन्ज । गाजा युद्धका कारण अन्तर्राष्ट्रिय रूपमा एक्लिँदै गएको इजरायललाई अमेरिकाले नयाँ समर्थन जनाएको छ।

ट्रम्प प्रशासनले इजरायललाई करिब ६ अर्ब डलर बराबरका अत्याधुनिक हतियार बिक्री गर्ने योजना बनाएको जानकारी अमेरिकी कंग्रेसलाई दिएको छ।

समाचार संस्था एपीका अनुसार, यो हतियार प्याकेजमा ३० वटा एएच–६४ अपाचे हेलिकप्टर (३.८ अर्ब डलर) र ३,२०० वटा इन्फ्यान्ट्री असल्ट भेहिकल (१.९ अर्ब डलर) समावेश छन्। यी हतियारले इजरायलको हालको सैन्य क्षमतालाई लगभग दोब्बर बनाउने अनुमान गरिएको छ। यद्यपि, यी हतियार इजरायललाई तत्काल उपलब्ध हुने छैनन्।

यो ठूलो मात्राको हतियार बिक्री यस्तो समयमा भइरहेको छ, जब अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने प्रयास असफल भएको छ। साथै, कतारको दोहामा हमास नेताहरूमाथि भएको इजरायली आक्रमणले मध्यपूर्वका अमेरिकी सहयोगीहरूलाई पनि रुष्ट बनाएको छ। गाजामा बढ्दो मानवीय संकट र अमेरिकी सिनेटका केही डेमोक्र्याटहरूको विरोधका बावजुद ट्रम्प प्रशासनले इजरायललाई निरन्तर समर्थन दिइरहेको छ।

यसैबीच, रुसले गाजामा युद्धविराम लगायतका शान्ति प्रस्तावमा अमेरिकाले बारम्बार भिटो प्रयोग गरेकोमा गहिरो असन्तुष्टि जनाएको छ। रुसको परराष्ट्र मन्त्रालयले गाजामा जारी रक्तपात र पीडा अन्त्य गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् असफल हुनुको मुख्य कारण अमेरिकाको भिटो नै भएको बताएको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार, सुरक्षा परिषद्का केही अस्थायी सदस्य राष्ट्रहरूले गाजामा युद्धविराम, बन्धकको रिहाइ र मानवीय सहायताको सहज पहुँचका लागि प्रस्ताव पेस गरेका थिए। तर, सबै सदस्य राष्ट्रको समर्थन हुँदाहुँदै पनि अमेरिकाले सातौं पटक भिटो प्रयोग गरेर उक्त प्रस्तावलाई असफल बनाइदिएको थियो।

संयुक्त राष्ट्रसंघका अनुसार, गाजा सिटीमा जारी स्थल र हवाई आक्रमणका कारण हजारौं नागरिकहरू सुरक्षित स्थानको खोजीमा विस्थापित भइरहेका छन्। बालबालिका, वृद्धवृद्धा र महिलाहरूले खाद्यान्न र पानीबिना नै कठिन यात्रा गर्नुपरेको छ।

युनिसेफले गाजामा कुपोषित बालबालिकाका लागि ल्याइएको विशेष पोषण सामग्री लुटिएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ। यो घटनाले २,७०० बालबालिकाको उपचारमा बाधा पुग्नेछ। संयुक्त राष्ट्रसंघले सबै पक्षलाई नागरिकहरूको सुरक्षा र विस्थापितहरूलाई घर फर्किने अधिकार सुनिश्चित गर्न आह्वान गरेको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै