वीरगन्ज । वीरगन्जको रानीघाटमा दुर्गा पूजा सेवा समितिले आफ्नो २५ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
‘सेवा नै धर्म हो, रक्तदान जीवनदान हो’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा ३ जना महिलासहित १०५ जनाले रक्तदान गरी जीवन बचाउने यस पवित्र कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताले रक्तदाताहरूको हौसला बढाउन १५० थान टिसर्ट सहयोग गरेका थिए । उनले यस्ता मानवीय कार्यको निरन्तरताका लागि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
दुर्गा पूजा सेवा समितिका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाका अध्यक्ष बृज किशोर पटेल, रक्तसञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष राजपुतले यस वर्ष पनि ठूलो संख्यामा रक्तदाताको सहभागिता हुनु गौरवको विषय भएको बताउँदै रक्तदान जीवन बचाउने एक महान कार्य भएकोले सबैलाई यस अभियानमा सक्रिय हुन आग्रह गरे।
समितिका सचिव राजन कुमार साह, कोषाध्यक्ष विकास रौनियार र उपाध्यक्ष रबि रौनियारलगायतको सक्रिय सहभागितामा सम्पन्न भएको यस कार्यक्रममा कुमारी सोनी पासवान, सतिश सिंह राजपुत, अशोक श्रीवास्तव, अरुण प्रसाद कुशवाहा, रितेश सुबेदी र अब्दुल सदाम हवारी लगायतका व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो।