वीरगन्ज । वीरगन्जमा अझैपनि हैजाबाट संक्रमिण बिरामी थपिइदै गइरहेका छन् ।
आज शुक्रबार बिहान १० बजेसम्म २८ जना नयाँ बिरामीमा हैजाको संक्रमण पुष्टि भएको छ। यससँगै, वीरगन्जमा हालसम्म हैजाका कुल बिरामीको संख्या १०५४ पुगेको छ।
स्थानीय स्वास्थ्यकर्मीहरूले संक्रमण नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाइरहेका छन्। उनीहरूले हैजाबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइरहेका छन्।
हालसम्म, १०५ जना बिरामी उपचाररत छन्, जसमध्ये ११ जनाको आईसीयूमा, ५ जनाको एचडीयूमा र ८९ जनाको जनरल वार्डमा उपचार भइरहेको छ। यसैबीच, ९४९ जना बिरामी उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन्।
वीरगन्जका चिकित्सकहरूले हैजाको रोकथामका लागि विशेष गरी खानेपानी र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्। उनीहरूले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन, खानेकुरा सफा राख्न र आफ्नो वरपरको वातावरण स्वच्छ राख्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।
स्वास्थ्यकर्मीहरूले महामारी नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेका छन्। स्थानीय प्रशासनले पनि यस कार्यमा सहयोग गरिरहेको छ।