ट्रेन्डिङ

काठमाडौं प्रहरीको ध्वनि, धुवाँ र फोहोर नियन्त्रणमा जोड, ध्वनि प्रदूषण गर्नेलाई ३ लाखसम्म जरिवाना

वीरगन्ज । नेपाल प्रहरीको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्त र सभ्य समाज निर्माणका लागि ‘शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान’ सुरु गरेको छ।

यस अभियानमार्फत प्रहरीले ध्वनि, धुवाँ र फोहोर प्रदूषण नियन्त्रण गर्न आम नागरिकलाई अनुरोध गरेको छ।

प्रहरी कार्यालयका अनुसार अनावश्यक ध्वनि प्रदूषणले गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्न सक्छ। यसबाट सामाजिक सम्बन्धहरूमा पनि प्रतिकूल प्रभाव पर्ने भएकाले छिमेकीहरूको हितका लागि केही नियमहरू पालना गर्न आग्रह गरिएको छ।

अभियानका मुख्य बुँदाहरू
रातीको समयमा अनावश्यक आवाज नगरौँ : राती फोनमा ठूलो स्वरमा कुरा नगर्ने, हेडफोनको प्रयोग गर्ने, अबेरसम्म ठूलो स्वरमा गफगाफ वा पार्टी नगर्ने, र टेलिभिजन वा म्युजिक सिस्टमको आवाज कम गर्ने।

बिहानको शान्ति कायम राखौँ : बिहान नित्यकर्म गर्दा अनावश्यक खोक्ने वा खकार्ने कार्य नगर्ने र सवारी साधनको ठूलो आवाज ननिकाल्ने।

शौचालय र अन्य घरेलु क्रियाकलापमा सचेत बनौँ : राती ढिलो शौचालय फ्लश गर्दा आवाज कम गर्ने उपाय अपनाउने र घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्ने।

सामाजिक र धार्मिक क्रियाकलापमा सचेत बनौँ : धार्मिक कार्यक्रम वा मन्दिर, गुम्बा, मस्जिदमा पूजा-प्रार्थना गर्दा ध्वनि नियन्त्रण गर्ने।

फोहोर तथा धुवाँ नियन्त्रण : चुरोट वा फोहोर जलाएर धुवाँ र प्रदूषण नफैलाउने, कुहिने र नकुहिने फोहोरको उचित व्यवस्थापन गर्ने र सडकमा जथाभावी फोहोर नफाल्ने।

पशु नियन्त्रण : आफूले पालेका जनावरहरू ९कुकुर, कुखुरा० बाट छिमेकीलाई अशान्ति नदिने।

कानुनी व्यवस्था : ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई ३ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले स्मरण गराएको छ।

प्रहरीले यस अभियानमा सबै नागरिकलाई सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दै छिमेकमा कुनै किसिमको अवरोध वा डिस्टर्ब भएमा प्रहरी कन्ट्रोल १००, ट्राफिक कन्ट्रोल १०३, वा का.उ.प्र.का. रानीपोखरीको फोन नम्बर ९८५१२८३०२६, ९८५१२८३०२७ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै