ट्रेन्डिङ

खानेपानी मन्त्रीसँगको विवादपछि पक्राउ परेकी किरण साह सामान्य उपचारपछि पुनः हिरासतमा

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवादपछि पक्राउ परेकी किरण साहलाई सामान्य उपचारपछि पुनः प्रहरी हिरासतमा ल्याइएको छ।

पेटमा समस्या देखिएपछि उनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो।

अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा फर्काइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले बताए । गत शनिबार पक्राउ परेकी साहलाई विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटो कुरा फैलाएको अभियोगमा अनुसन्धान भइरहेको छ।

मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा पक्राउ परेकी किरणलाई मंगलबार मात्रै जिल्ला अदालत पर्साबाट दोस्रो पटक तीन दिनको म्याद थप गरिएको थियो।

गत शुक्रबार राति मन्त्री यादव र किरण साहबीचको टेलिफोन संवाद सामाजिक सञ्जालमा भाइरल भएको थियो। अडियोमा किरणले वीरगन्जमा फैलिएको हैजा र दूषित पानीको विषयमा मन्त्रीलाई कडा प्रश्न गरेकी थिइन्।

उनले आफ्नो परिवारका सदस्य पनि हैजाका कारण अस्पतालमा भर्ना भएको भन्दै मन्त्री सम्पर्कमा नआएकोमा आक्रोश पोखेकी थिइन्। सोही क्रममा ‘म तपाईंलाई छोड्दिनँ’ भन्ने उनको भनाइलाई प्रहरीले ज्यान मार्ने धम्कीको रुपमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै