वीरगन्ज । नेपाल—खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई स्वास्थ्यमा समस्या देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ।
साहको पेट दुखेपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । हाल प्रहरी हिरासतमा रहेकी उनलाई मंगलबार मात्रै जिल्ला अदालत पर्साबाट थप तीन दिनको म्याद थप गरिएको थियो।
साहलाई विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटो कुरा फैलाएको अभियोगमा अनुसन्धान भइरहेको छ। मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा उनलाई गत शनिबार पक्राउ गरिएको थियो। बाराको कलैया घर भएकी उनी हाल वीरगन्जको मुर्लीमा बस्दै आएकी छिन्।
घटनाको सुरुवात गत शुक्रबार राति भएको थियो, जब मन्त्री यादव र साहबीचको टेलिफोन संवाद सामाजिक सञ्जालमा भाइरल भयो। अडियोमा साहले वीरगन्जमा फैलिएको हैजा र दूषित पानीको विषयमा मन्त्रीलाई चर्को प्रश्न गरेकी थिइन्। आफ्नै परिवारका सदस्य बिरामी परेको बताउँदै उनले मन्त्री सम्पर्कमा नआएकोमा आक्रोश पोखेकी थिइन्।
सोही संवादमा साहले ‘म तपाईंलाई छोड्दिनँ’ भन्दै बोलेको सुनिन्छ, जसलाई प्रहरीले ज्यान मार्ने धम्कीको रुपमा लिएर अनुसन्धान गरिरहेको छ। यो घटनाले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न गर्ने अधिकारबारे बहस सिर्जना गरेको छ।