ट्रेन्डिङ

वीरगन्जमा हैजाः शुक्रबार ७७ जना नयाँ बिरामी थपिए, अहिलेसम्म ५१७ जना ‘डिस्चार्ज’

वीरगन्ज । हैजा संक्रमणको प्रकोपमा परेको वीरगन्जमा शुक्रबार मात्रै ७७ जना नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, पर्साले सार्वजनिक गरेको बिहीबार साँझ ६ बजेदेखि आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार हालसम्म वीरगन्ज र आसपासका क्षेत्रमा गरी कुल ७१२ जनामा हैजाको संक्रमण देखिएको छ।

उपचार गराएकामध्ये ५१७ जना बिरामी निको भएर घर फर्किसकेका छन्। आज मात्र १०१ जना विरामीलाई ‘डिस्चार्ज’ गरिएको छ । यद्यपि, अझै पनि १९५ जना संक्रमितको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। बिरामीको संख्यामा आएको तीव्र वृद्धिले नारायणी अस्पताल लगायत नेशनल मेडिकल कलेज, तराई हस्पिटल, प्रभु अस्पताल र वीरगन्ज हेल्थ केयर जस्ता स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप निकै बढेको छ।

जिल्ला स्वास्थ्य कार्यालयले हैजाको रोकथाम र नियन्त्रणका लागि जनचेतना अभियान तीव्र पारेको छ। कार्यालयले सर्वसाधारणलाई पानी उमालेर मात्र पिउन, सरसफाइमा विशेष ध्यान दिन र खानेकुरा छोपेर राख्न आग्रह गरेको छ। साथै, झाडापखाला वा बान्ता जस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि भनिएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै