ट्रेन्डिङ

लामखुट्टेको टोकाइबाट पर्सामा दुई जनामा जापानिज इन्सेफलाइटिस

वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका र ठोरी गाउँपालिकामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी फेला परेका छन्।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो संक्रमण पुष्टि भएपछि स्थानीय स्वास्थ्य निकायले सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय, पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार, दुवै संक्रमित अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

संक्रमितमध्ये एक जना काठमाडौँका बासिन्दा भएकाले उपचारपछि आफ्नो जिल्ला फर्किसकेका छन् भने अर्का एक बालक अझै पनि सिकिस्त रहेको अधिकृत ठाकुरले जानकारी दिए ।

जापानिज इन्सेफलाइटिस ‘फ्ल्याभिफाइरस’ वर्गको एक भाइरसबाट हुने रोग हो, जसलाई ‘क्यूलेक्स’ प्रजातिको लामखुट्टेले सार्छ। यो लामखुट्टे विशेषगरी बिहान र बेलुका सक्रिय हुन्छ। संक्रमित चराचुरुङ्गी, हाँस वा सुँगुरलाई टोकेपछि लामखुट्टे आफैं संक्रमित हुन्छ र त्यसले मानिसलाई टोक्दा यो रोग सर्छ।

यस रोगको कुनै खास उपचार छैन र बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ। जापानिज इन्सेफलाइटिसका अधिकांश बिरामी १५ वर्षभन्दा कम उमेरका बालबालिका हुने गर्छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, यस रोगमा मृत्युदर ३० प्रतिशतसम्म हुन सक्छ।

सामान्यतया यसका लक्षणहरू हल्का भए पनि, केही बिरामीहरूमा भने यो घातक हुन सक्छ। उच्च ज्वरो आउने, मूर्छा पर्ने, घाँटी अररो हुने, भ्रममा पर्ने, बोल्न नसक्ने, शरीर अनियन्त्रित भएर काम्ने र मांसपेशी कमजोर हुने वा पक्षाघात हुनेजस्ता लक्षणहरू देखा पर्न सक्छन्। डब्ल्यूएचओका अनुसार, २५० जना संक्रमितमध्ये एक जनामा गम्भीर समस्या देखा पर्न सक्छ र त्यस्ता तीन बिरामीमध्ये एक जनाको मृत्युसमेत हुन सक्छ।

यसको जोखिमबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउनु आवश्यक छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै