ट्रेन्डिङ

नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्सबीच स्वास्थ्य सेवा सम्झौता

वीरगन्ज । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँदै संस्थागत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ वीरगन्जको नेशनल मेडिकल कलेज प्रालि र शिवम फार्मास्युटिकल्स लिमिटेडबीच एक महत्वपूर्ण सम्झौता भएको छ।

बिहीबार नेशनल मेडिकल कलेजको कार्यालयमा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यस सम्झौताअनुसार, अब शिवम फार्मास्युटिकल्सका सञ्चालक समिति सदस्य, कर्मचारी र उनीहरूमा आश्रित परिवारका सदस्यहरूले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विशेष छुटसहितको उपचार सेवा पाउनेछन्।

सामाजिक सुरक्षा कोषमा आबद्ध लाभार्थीका लागि अस्पतालको नीतिअनुसार ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्नेछ। बाँकी २० प्रतिशत रकम भुक्तानीका लागि एक महिनाको ‘जीओपी’ ( Guarantee of Payment) सुविधा दिइनेछ।

सामाजिक सुरक्षा कोषमा नजोडिएका लाभार्थीका लागि उपचार सेवामा २० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउनेछन्।

दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको उपचार खर्चमा ३० दिनको ‘जीओपी’ सुविधा, पाँच लाख रुपैयाँभन्दा बढीको खर्चमा ४५ दिनको ‘जीओपी’ सुविधा, शिवम फार्मास्युटिकल्सको परिसरमा प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

सम्झौतामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक डा. इशरत जहाँ अन्सारी र शिवम फार्मास्युटिकल्सका तर्फबाट प्रशासन अधिकृत सञ्जय चौधरीले हस्ताक्षर गरेका छन् । दुवै पक्षले सेवालाई सहज बनाउन एक–एक जना सम्पर्क व्यक्ति तोक्ने र लाभार्थीको पहिचानका लागि फोटोसहितको परिचयपत्र प्रयोग गरिने सहमति भएको छ।

यस सहकार्यले अस्पताल र औद्योगिक क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै, संस्थागत सामाजिक उत्तरदायित्व र पारदर्शितालाई बढावा दिने विश्वास गरिएको छ।

सो अवसरमा कलेजको तर्फबाट ईन्जिनियर प्रदीप चौधरी, मार्केटिंग प्रबन्धक जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कान्त , प्रशासन अधिकृत पप्पु सिंह उपस्थित रहेका थिए भने शिवम फार्मास्युटिकल्स तर्फबाट उत्पादन विभाग प्रमुख निरज प्रसाद चौधरी र गुणस्तर नियन्त्रण प्रमुख प्रविन चौधरीको समेत उपस्थिति रहेको नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै