वीरगन्ज । वीरगन्ज महानगरपालिकाले हैजा, झाडापखाला तथा पानीजन्य रोगको जोखिम कम गर्न घर-घरमा सचेतना अभियान चलाएको छ।
आज पाँचौं दिन पनि स्वास्थ्यकर्मीको टोलीले विभिन्न वडामा पुगेर स्थानीय बासिन्दालाई स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी दिइरहेको छ।
महानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु प्रसाद साहका अनुसार, खानेपानी, व्यक्तिगत सरसफाइ र खानपिनमा ध्यान दिन सचेतना अभियान सुरु गरिएको हो। स्वास्थ्यकर्मीले हरेक घरमा पुगेर पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन, शौचालय र धाराको दूरी कायम गर्न, नियमित हात धुने र घर वरिपरिको सरसफाइमा ध्यान दिन सुझाव दिइरहेका छन्।
पछिल्लो समय अस्पतालहरूमा झाडापखाला र हैजाका बिरामी बढ्न थालेपछि महानगरपालिकाले यो अभियानलाई प्राथमिकता दिएको छ। वडास्तरमा खटाइएका टोलीले बिहान–बेलुका टोलटोलमा पम्प्लेट वितरण गरी प्रत्यक्ष संवाद र सरसफाइको अवस्थाबारे जानकारी लिइरहेका छन्।
जनस्वास्थ्य शाखा प्रमुख साहले सुरक्षित पानी र सरसफाइ नै हैजा नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय रहेको बताए। उनले भने, ‘हामीले थोरै पनि लापरबाही गर्दा ठूलो सङ्क्रमण फैलिन सक्छ, त्यसैले सबै नगरवासीले सावधानी अपनाउनुपर्छ।’
महानगरपालिकाले भविष्यमा स्वास्थ्य संस्था, विद्यालय र समुदायसँगको सहकार्यमा यस्ता सचेतनामूलक कार्यक्रमलाई अझ विस्तार गर्ने योजना बनाएको छ।