वीरगन्ज । अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने आधिकारिक सूचना जारी गरेको छ।
यससँगै भारतबाट अमेरिका आयात हुने सामानमा लाग्ने कुल कर ५० प्रतिशत पुगेको छ। यो नयाँ नियम भारतीय समयअनुसार बुधबार बिहान ९ः४५ बजेदेखि लागू भएको छ।
अमेरिकी सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगका लागि अमेरिका आइपुगेका वा गोदामबाट निकालिएका कुनै पनि भारतीय सामानमा यो बढेको शुल्क लाग्नेछ।’ यसअघि नै २५ प्रतिशत रहेको भन्सार दरमा थप २५ प्रतिशत जोड्दा कुल कर ५० प्रतिशत पुगेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट कच्चा तेल खरिद गरी युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरेको कारण यो निर्णय लिएको बताएका छन्। यता, भारतले भने ट्रम्पको यो कदमलाई ‘अनुचित, अव्यावहारिक र तर्कहीन’ भन्दै यसको कडा विरोध गरेको थियो।
यसअघि पनि अमेरिकाले भारतमाथि कर बढाउने प्रयास गरेको थियो। अप्रिल २०२५ मा ट्रम्पले २६ प्रतिशत कर लगाउने घोषणा गरे पनि पछि ९० दिनका लागि स्थगित भएको थियो। त्यसपछि जुलाई २०२५ मा २५ प्रतिशत कर लगाउने घोषणा गरियो, र अब अगस्टमा थप २५ प्रतिशत जोडेर कुल कर ५० प्रतिशत पुर्याइएको छ। यसले दुई देशबीचको व्यापार सम्बन्धमा तनाव बढाएको छ।