ट्रेन्डिङ

पर्सामा हैजा तथा झाडापखालाको जोखिम बढ्यो, नियन्त्रणका लागि ६ बुँदे निर्णय

वीरगन्ज । जिल्लामा हैजा र झाडापखालाको जोखिम बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा लिनका लागि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले ६ बुँदे निर्णय गरेको छ।

मधेश प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंह र निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको उपस्थितिमा बसेको बैठकले महामारी नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण कदम चाल्ने निष्कर्ष निकालेको छ।

समितिका प्रमुख निर्णयहरू :

सचेतना अभियान : महामारीबारे जनचेतना जगाउन सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, मिडिया र विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा घरदैलो तथा माइकिङ कार्यक्रम सञ्चालन गरिनेछ।

स्वास्थ्यकर्मीको बिदा रोक्का : सम्भावित जनशक्ति अभावलाई ध्यानमा राख्दै स्वास्थ्यकर्मीको अत्यावश्यक बाहेकका सबै बिदा रोक्ने निर्णय गरिएको छ।

औषधि र सामग्री सुनिश्चितता : स्वास्थ्य कार्यालय, पर्साले हैजा तथा झाडापखालाको उपचारका लागि आवश्यक औषधि, किट र पानी शुद्धिकरणका सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउनेछ। यसका लागि प्रदेश र संघीय सरकारसँग सहयोग मागिनेछ।

फोकल पर्सन : सूचनाको प्रभावकारी समन्वयका लागि एक जना फोकल पर्सन तोकिनेछ।

स्रोत साधनको व्यवस्थापन : संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने जनशक्ति र अन्य स्रोत साधनको वितरण, व्यवस्थापन र अनुगमन गर्ने जिम्मा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिलाई दिइएको छ।

महामारीको अनुसन्धान : महामारी नियन्त्रणका साथै यसको अनुसन्धान गर्ने कार्य स्थानीय तहले गर्नेछ। यसका लागि आवश्यक प्राविधिक सहयोग प्रदेश र संघीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउनेछ।

पर्सामा हैजाजस्तै लक्षण भएका बिरामीहरूको संख्या बढिरहेकाले सबै सरोकारवाला निकायलाई सतर्क रहन आग्रह गरिएको छ। बैठकले महामारी नियन्त्रणका लागि सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै