वीरगन्ज । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२, मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएपछि महानगरपालिकाले जनचेतनामूलक अभियान सुरु गरेको छ।
संक्रमण थप फैलन नदिन शुक्रबार रातिदेखि नै घर–घरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
महानगरले झाडापखालाका बिरामीको संख्या बढेपछि तराई हस्पिटलले शंका जनाएर खबर गरेको थियो। त्यसपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा गरिएको परीक्षणमा तीन जनामा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको हो। संक्रमितमध्ये १६ वर्षीय एक बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु साहले जानकारी दिए।
महानगरपालिकाले तत्कालै रोकथामका लागि केही महत्वपूर्ण निर्णय गरेको छ। अर्को सूचना जारी नभएसम्म भाजा, चटपटे र पानीपुरीको बिक्रीमा रोक लगाइएको छ। साथै, प्रभावित क्षेत्रबाट पिउने पानीको नमुना संकलन गरी थप परीक्षणका लागि काठमाडौंस्थित टेकुको स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।
जनस्वास्थ्य कार्यालय, पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार जिल्लामा पछिल्लो १० वर्षमा हैजाको प्रकोप पहिलोपटक देखिएको हो। झाडापखाला, बान्ता, पेट दुख्ने समस्या भए तुरुन्त अस्पतालमा गएर जाँच गराउन उनको सुझाव छ । हैजाबाट बच्नका लागि पानी उमालेर पिउन, खाना खानुअघि हात राम्ररी धुन र सरसफाइमा विशेष ध्यान दिन उनले आग्रह गरेका छन्।
स्वास्थ्यकर्मीको टोलीले स्थानीयहरूलाई हैजाबाट जोगिने उपायहरू र लक्षणहरूबारे जानकारी दिँदै कुनै पनि शंकास्पद बिरामी देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान आग्रह गरेको छ। हैजाको लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने र शरीरमा पानीको कमी हुने जस्ता समस्या देखिन्छन्। समयमै उपचार नभए ज्यान जाने खतरा पनि रहने हुँदा सबैलाई सतर्क रहन भनिएको छ।