मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा फेमिली कोर्टमा सम्बन्धविच्छेदको लागि निवेदन दर्ता गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।
डिभोर्स पेपरमा सुनिताले गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध राखेको र क्रूर व्यवहार गरेको आरोप लगाएकी छन् ।
भारतीय मिडियाका अनुसार उनले हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१)(आई), (आईए) र (आईबी) अन्तर्गत सम्बन्धविच्छेद मागेकी छिन् ।
पारिवारिक अदालतले मे २५ मा गोविन्दालाई बोलाए पनि उनी उपस्थित भएका छैनन्, भने सुनिता नियमित अदालत धाइरहेकी छन् ।
तर, गोविन्दाको नजिकको वृत र उनका म्यानेजरले यी रिपोर्टलाई अस्वीकार गर्दै अफवाह मात्र भएको बताएका छन् ।
यसअघि पनि ६१ वर्षीय गोविन्दा र सुनिताबीच सम्बन्धविच्छेदको चर्चा चलेको थियो ।
त्यतिबेला पनि गोविन्दाको एक मराठी अभिनेत्रीसँगको अफेयरबारे मिडियामा खबर आएको थियो ।
तर, दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए ।
सुनिता पछिल्ला दिनमा भ्लगिङमा सक्रिय भएकी छन् ।
एक भ्लगमा उनले परिवारमा उतारचढाव आउनु सामान्य भएको र कठिनाइ आए पनि आस्थाले सबैलाई जोगाउने विश्वास व्यक्त गरेकी थिइन् ।
भारतको प्रतिष्ठित पत्रिका द इन्डियन एक्सप्रेस ले समेत सुनिताले बान्द्रा कोर्टमा सम्बन्धविच्छेदको निवेदन दिएको उल्लेख गरेको छ ।