ट्रेन्डिङ

वीरगन्जमा हैजाका बिरामी भेटिएसॅंगै स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा

सतर्कता अपनाउन आग्रह

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएसँगै स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ ।

महानगरपालिकाले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। संक्रमणबारे जानकारी पाएलगत्तै प्रमुख राजेशमान सिंहले टोलीलाई तत्काल प्रभावित क्षेत्रमा खटाउन निर्देशन दिएका हुन् ।

सोही बमोजिम संक्रमित क्षेत्र पुगेर अवस्थाको जानकारी लिनुका साथै स्थानीयलाई सतर्क गराउने कार्य टोलीले थालेको छ ।

महानगरका अनुसार मुर्ली टोलका करिब ३० जना बासिन्दा झाडापखालाको कारण तराई हस्पिटलमा भर्ना थिए । एकैपटक ठूलो संख्यामा बिरामी आएपछि अस्पतालले शंका व्यक्त गर्दै महानगरलाई खबर गरेको थियो ।

त्यसपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको हो ।

संक्रमितमध्ये १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिला छन् । तीमध्ये बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले जनाए ।

यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमुना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।

सतर्क रहन आग्रह

हैजा फैलन नदिन र स्थानीयलाई सतर्क बनाउन शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीहरूको टोली घर–घरमा पुगेको छ।

टोलीले हैजाबाट जोगिने उपायहरूबारे जानकारी दिँदै कुनै पनि शंकास्पद बिरामी भेटिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान आग्रह गरेको छ।

सचेतना अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर, महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरलगायतको टोली सक्रिय छ।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलोपटक हैजाको प्रकोप देखिएको हो।

भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ। यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् ।

समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने चेतावनी उनले दिएका छन् ।

हैजाबाट जोगिनका लागि सबैलाई विशेष सतर्कता अपनाउन आह्वान गरिएको छ ।

उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात उमालेको पानीले पखालेर मात्र पकाएर खान, बासी खाना नखान, राम्ररी नपकाएको मासु वा माछा नखान, साबुनपानीले पटक–पटक हात धुन, खानपिनका भाँडाकुडा सफा राख्न र सफा शौचालय प्रयोग गर्न अनुरोध गरिएको छ।

महानगर प्रमुख सिंहले हैजा एक गम्भीर संक्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापरबाही नगर्न सबैलाई चेतावनी दिए । उनले सतर्क रहनुका साथै कुनै पनि शंकास्पद लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै