ट्रेन्डिङ

बाराका एम्बुलेन्स चालकहरू आन्दोलनको तयारीमा : राज्यले उपेक्षा गरेको भन्दै ज्ञापनपत्र पेश

कलैया । राज्यले आफूहरूलाई उपेक्षा गरेको र विभिन्न समस्यामा पारेको भन्दै एम्बुलेन्स चालक संघ बाराले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष सर्फुद्दिन आलमको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न माग गरेको छ।

एम्बुलेन्स चालकहरूले कोरोना महामारीजस्ता जोखिमपूर्ण अवस्थामा समेत ज्यान जोखिममा राखेर काम गर्दा पनि जोखिम भत्ता वा न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध नगराइएकोमा गुनासो पोखेका छन्। उनीहरूले आफूहरूको योगदानलाई राज्यले कहिल्यै सम्मान नगरेको र एम्बुलेन्स चालकको पहिचान खुल्ने ड्रेससमेतको व्यवस्था नभएको बताएका छन्।

यसका साथै, उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८प्रति गम्भीर आपत्ति जनाएका छन्। उनीहरूका अनुसार, उक्त निर्देशिकाले अस्पतालहरूलाई मात्र एम्बुलेन्स सञ्चालन गर्न दिने र १० वर्ष पुराना एम्बुलेन्स हटाउने जस्ता निर्णयले देशभरका करिब ८० प्रतिशत एम्बुलेन्सको नवीकरण रोकिएको छ, जसले गर्दा सयौं चालकहरू विस्थापित हुने अवस्थामा पुगेका छन्।

ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ भट्टराईले उक्त पत्रलाई सम्बन्धित निकायमा पठाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। तर, एम्बुलेन्स चालक संघले आफ्ना मागहरूको सुनुवाइ नभए आन्दोलनमा उत्रिने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने कुनै पनि अवस्थाको जिम्मेवारी नेपाल सरकारको हुने बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै