वीरगन्ज । इजरायल–गाजा युद्धमा मारिने अधिकांश व्यक्तिहरू निर्दोष सर्वसाधारण रहेको एक सनसनीपूर्ण रिपोर्टले पुष्टि गरेको छ।
‘द गार्जियन’ पत्रिकाले इजरायली सेनाको आन्तरिक रिपोर्टलाई उद्धृत गर्दै प्रकाशित गरेको विशेष रिपोर्टअनुसार, गाजामा मारिएका हरेक ६ जना प्यालेस्टिनीमध्ये ५ जना निर्दोष नागरिक थिए।
विगत दुई वर्षको अवधिमा गाजामा ६५,००० भन्दा बढी मानिसको ज्यान गएकोमा, तीमध्ये ८,९०० जना मात्र हमास लडाकु रहेको पाइएको छ। यसको अर्थ, ५३,००० भन्दा बढी मृतकहरू निहत्था र निर्दोष नागरिक थिए, जसमा ४० प्रतिशतभन्दा बढी बालबालिका रहेका छन्। यसलाई ‘शताब्दीकै बीभत्स र विस्मयकारी जातीय संहार’ मानिएको छ।
हालै इजरायलको च्यानल १२ मा प्रसारित एउटा अडियोमा तत्कालीन सैन्य गुप्तचर विभागका प्रमुख अहारोन हालवाले गरेको टिप्पणीले थप विवाद सिर्जना गरेको छ। अडियोमा हालवाले ‘हाम्रो एकजना बराबर उनीहरू ५० जना मारिनुपर्छ’ भन्दै प्यालेस्टिनीहरूलाई ‘बेलाबेलामा एक नाक्बा’ आवश्यक रहेको बताएका छन्। ‘नाक्बा’ शब्दले सन् १९४८ मा इजरायलको स्थापनाको क्रममा भएको जातीय सफायालाई जनाउँछ, जसले हालको स्थितिमा इजरायली सेनाको मानसिकतामाथि गम्भीर प्रश्न उठाएको छ।
यो रिपोर्टले युद्धको मानवीय लागतलाई मात्र नभई, युद्धका नियमहरू र नैतिकताको गम्भीर उल्लंघनलाई पनि प्रकाश पारेको छ। ‘द गार्जियन’ का अनुसार, इजरायली सेनाले समेत यो रिपोर्टलाई अस्वीकार गर्न सकेको छैन, जसले यसको सत्यतालाई थप बल दिएको छ।