ट्रेन्डिङ

पूर्वमेयर नितेन्द्र साह तेलीले भने– पर्सा बहुदरमाइ नगरपालिकाका मेयर सिंघासन साह तेली कमाउ धन्दामा मात्रै लागेका छन्

बीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकामा अहिले मेयर सिंघासन साह तेली छन् । ०७९ सालको बैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणामाबाट बहुदरमाइको मेयरमा तेली निर्वाचित भए ।

करिब २७÷२८ महिनादेखि उनी मेयरको पदमा जिम्मेवारीमा छन् । सिंघासन साह तेली मेयर पदको जिम्मेवारी सम्हाँलिसकेपछि उनले आफ्नो जिम्मेवारी कतिको उत्तरदायी बनाएका छन् । त्यो काम कारबाहीको बारेमा पुर्वमेयर नितेन्द्र साह तेलीको बेग्लै मूल्यांकन छ ।

नेपाली कांग्रेसका प्रदेश समितिका नेता एव्म पूर्व मेयर नितेन्द्र साह तेलीले वर्तमान मेयर सिंघासन साहको बारेमा आफ्नो मूल्यांकन सुनाएका छन् ।

नितेन्द्र साहका अनुसार पछिल्लो २७÷२८ महिनामा नगरपालिका वर्तमान मेयरको लागि कमाउ धन्दाको भाँडो मात्र बनेको छ । जुनसुकै काममा वर्तमान मेयरले आर्थिक फाइदा मात्र खोज्ने गरेको उनको आरोप छ ।

मधेश सञ्चारसँग कुरा गर्दै उनी भन्छन्, ‘जनताले उनलाई म भन्दा राम्रो गर्लान भनेर जनप्रतिनिधि बनाए, जसकारण उनी अहिले मेयर पदमा आसीन छन् । तर जनताको मतको कदर उनले निर्वाह गर्न सकेका छैनन् । जनताको मतलाई लत्याउने काम गरिरहेका छन, किनभने यो अवधिसम्ममा अहिलेसम्म कुनै किसिमको ठोस विकास निर्माणका कार्यहरु हुन सकेका छैनन् ।’

विकास निर्माणका कार्य मात्रै होइन, जनतालाई सुलभ सेवा प्रवाहमा पनि निकै लापरबाही भइरहेको देखिएको उनी बताउँछन् । शिक्षा, स्वास्थ्य जस्ता गम्भीर विषयमा पनि बहुदरमाइ नगरपालिका अहिले चरम लापरबाह बनेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘अहिलेका मेयरज्यू शिक्षा, स्वास्थ्य जस्ता विषयमा आर्थिक फाइदा हुने नियत राख्छन्, कुनैपनि कर्मचारीको भर्ना, छनौट तथा म्याद थप गर्दासमेत त्यहाँ आर्थिक फाइदा भएन भने त्यो काम हुँदैन रे । जबकि यो विषय निकै गम्भीर मुद्दा हो, किनकि कहाँ कसलाई राख्दा जनतालाई बढी सेवा मिल्छ त्यो गुणस्तर मापन गरेर राख्ने हो । तर अहिले दक्षता वा गुणस्तरको मापनबिनै आफूलाई फाइदा हुने व्यक्तिलाई भर्ना वा छनौट गरिन्छ ।’

उनका अनुसार यी सबैको अर्थ नगरपालिकालाई दुहुनो गाइ मात्र बनाइएको जस्तो देखिन्छ । कसरी दुहुनो गाइ बनाइएको छ, त्यसलाई उनी यसरी प्रष्टयाउँछन् ।

उनका अनुसार अघिल्लो कार्यकालमा दलित विद्यार्थीहरुका लागि छात्रवृत्तिको कार्यक्रम लागू गरिएको थियो, जसका कारण दलित समुदायका जेहेनदार विद्यार्थीहरुले छात्रवृति पाएर डाक्टर, नर्सको पढाइ पुरा गर्थे । तर अहिले यो कार्यक्रमको कुनै वास्ता नभएको उनको ठहर छ, जसको अर्थ हो–नगरपालिको जनतालाई लत्याउनु ।

उनले भने, ‘त्यति मात्रै होइन आफ्नो कार्यकालमा सुकुम्बासी, विपन्न समुदायका लागि नमुना कार्यक्रम सुरु गरेका थिए, जुन अहिले रोकिएको छ । नगरपालिका भरिका बासीलाई निःशुल्क रगत उपलब्ध गराइरहेका थिए, चाँडपर्वमा सबैलाई जनताको नगरपालिका रहेको आभास गराइरहन्थे । त्यो विभिन्न किसिमको सहयोग गरेर जनताको नगरपालिका रहेको भनिरहन्थे, जुन सबै गतिविधि अहिले रोकिएको छ ।’

‘यो सब सुनाउनुको अर्थ आफ्नो वाहवाही कमाउनको लागि होइन, जनताले पाइरहेको सेवासुविधा पाऊन भनेर हो । मेयरसाहेबले कम्तीमा सुनेर पनि जनताको सेवा अगाडि बढ्नु हुन्छ कि भन्ने हेतुले मात्रै भनेको हो,’ उनले भने ।’

उनका अनुसार तर यो सब गर्ने÷नगर्ने उहाँको ‘च्वाइस’ हो, गर्नुहुन्छ भन्ने जनतालाई फाइदा हुन्छ, गर्नुहुन्न भने जनतालाई नोक्सानी हुन्छ । यी सबै हिसाबले मूल्याकंन गर्ने हो भन्ने समग्रमा नगरपालिकामा अहिले बेथिति बढेको उनी सुनाउँछन् । बेथितिसंगै दण्डहीनता पनि मौलाएको उनको आरोप छ ।

उनी भन्छन्, ‘कतिसम्म लाजमर्दो विषय भएको छ कि अहिलेसम्म नगरपालिकाको परिषद् हुन सकेको छैन, त्यति मात्रै होइन नियमित बैठक पनि हुँदैन । जुन बेथितिका कारण कार्यालय समयमा सञ्चालन नै हुँदैन, त्यसकारण अहिले नगरपालिका अभिभावकविहीन भएको छ ।’

साथै जनताको काममा पक्षपात हुने गरेको गुनासाहरु आउने गरेको उनी बताउँछन् । ‘त्यसकारण अहिले पनि धेरै समय बाँकी छ, यी सब कुराहरुलाई सुझाव ठानेर उहाँले काम गर्नुहुनेछ भन्ने विश्वास छ । गर्नु भएन भने त्यसपछि जनताले नै फैसला गर्नेछन्,’ उनले भने ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै