वीरगन्ज । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।
बुधबार भएको आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले २९ रन, कप्तान दिपेन्द्रसिंह ऐरीले २७ रन र लोकेश बमले २४ रन बनाएका थिए।
जवाफमा, १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो। नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै १७ रन खर्चेर ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट हात पारेका थिए।
सिरिजमा नेपालको यो पाँच खेलमा दोस्रो जित हो। सुरुका तीन खेलमा लगातार पराजित भएको नेपालले त्यसपछि होबार्टविरुद्ध ६६ रनको जित निकालेको थियो। यो जितसँगै नेपाल ५ खेलबाट ४ अंक जोडेर छैठौं स्थानमा पुगेको छ। नेपालले अब शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।