वीरगन्ज । नेपाल नेत्रज्योति संघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सालाई सनग्लास सहयोग गरेको छ।
दिनभर घाममा खटिने प्रहरीहरूको आँखालाई सूर्यको हानिकारक किरणबाट जोगाउने उद्देश्यले यो सहयोग गरिएको हो।
संघका सभापति भगवती चौधरी र केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको उपस्थितिमा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र र जिल्ला ट्राफिक कार्यालयका प्रमुख लोकराज भट्टलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।
संघका सचिव शिताराम उपाध्यायका अनुसार, ‘जनताको सुरक्षाका लागि निरन्तर खटिरहेका प्रहरीको स्वास्थ्यलाई ध्यानमा राख्दै आँखाको सुरक्षाका लागि यो सहयोग गरिएको हो।’
एसपी मिश्रले सहयोग ग्रहण गर्दै नेपाल नेत्रज्योति संघको यस कार्यको प्रशंसा गरे। उनले प्रहरीको स्वास्थ्य सुरक्षामा गरिएको यस किसिमको योगदान सराहनीय रहेको बताए।
संघका सदस्य राजन श्रीवास्तवले यस सहयोगले प्रहरीहरूलाई आफ्नो दैनिक ड्युटीमा ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे।
नेपाल नेत्रज्योति संघ पर्साले यसअघि पनि आँखासम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ।