ट्रेन्डिङ

दुर्व्यसन, डिजिटल लत र आर्थिक संकटको चक्रव्युहमा तराईका युवापुस्ता, सम्बोधन गर्न आवश्यक

अबुसुफ़ियान खान

नेपालको तराई क्षेत्रका युवाहरू आजका दिनमा लागूपदार्थ अर्थात् ड्रग्सको सेवन र त्यसबाट उत्पन्न भएका विभिन्न समस्याहरूको सामना गरिरहेका छन्। खासगरी रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा लागूपदार्थ सेवन सम्बन्धी प्रकरणहरू उल्लेखनीय रूपमा बढ्दै गएको तथ्यांकहरूले पुष्टि गर्छ। सन् २०१७र१८ मा मात्र रुपन्देही जिल्लामा ३२५ र २०१८/१९ मा ३७१ लागूपदार्थ सम्बन्धी प्रकरण दर्ता भएका थिए। जुन लुम्बिनी प्रदेश भित्रको कुल प्रकरणको आधाभन्दा बढी हो। यो आँकडा मात्र संख्या होइन, यो एउटा ठूलो सामाजिक चुनौतीको सूचक हो। यसले युवाहरूको व्यक्तिगत जीवन, परिवार र समाजमा गम्भीर असर पुर्याइरहेको छ।

लागूपदार्थ सेवनले युवाहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ। यसले अध्ययन गर्ने क्षमतामा कमी ल्याउने, मानसिक तनाव बढाउने, सामाजिक एकांकीपनमा धकेल्ने, आक्रमक व्यवहार निम्त्याउने र भविष्यप्रति उदासीन बनाउने काम गरिरहेको छ। युवाहरूमा नैराश्यता बढाउने गरेको छ। विद्यार्थीहरूमा पनि यस समस्याले व्यापक रूप लिइसकेको छ। कक्षा १० र १२ का लगभग २७ प्रतिशत विद्यार्थीले कुनै न कुनै प्रकारको लागूपदार्थ सेवन गरेको तथ्यांकले युवाबीचमा व्यसन फैलिएको स्पष्ट देखाउँछ।

ड्रग्सको सेवनले परिवारमा झगडा, आर्थिक संकट र सामाजिक मूल्य मान्यतालाई नजर अन्दाज गरिरहेको छ। युवा परिवारका सदस्यहरू लागूपदार्थको कारणले अस्वस्थ्य र असामाजिक गतिविधिमा संलग्न हुँदा तनावपूर्ण अवस्था सृजना गरिरहेको छ। सदस्य सदस्य बीच दुरी कायम हुँदै गएको छ। कतिपय परिवार दिक्दार अवस्थामा देखिन्छन्। यसले मात्र व्यक्तिगत तहमा सिमित नाराहर सामाजिक संरचनामा पनि दरार पार्ने खतरनाक विषयको रूपमा देखा परेको छ।
नव पुस्तामा यस्ता समस्या नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न आवश्यक छ। सरकारले लागूपदार्थ नियन्त्रणका लागि कडाइ गर्दै केही कानून र अभियानहरू चलाइरहेको छ, तर कार्यान्वयनमा सुधार आवश्यक छ। स्थानीय तह र समुदायले पनि युवामा दुर्व्यसन मुक्त जीवनशैली अपनाउन प्रोत्साहन गर्ने पहलहरू गर्नुपर्छ।

स्वास्थ्य शिक्षा, व्यावसायिक तालिम र मनोरञ्जनात्मक कार्यक्रमहरूमा युवालाई सक्रिय संलग्न गराएर उनीहरूलाई लागु पदार्थ दुर्व्यसनबाट टाढा राख्न सकिन्छ। साथै, विद्यालय र अभिभावकहरूले युवाको व्यवहारमा हुने परिवर्तनमाथि सतर्क रहनुपर्ने हुन्छ र समयमै सहायता पुर्याउनु जरुरी छ। ड्रग्सको समस्या समाधान गरेर मात्र युवाहरूको उज्जवल भविष्य सुनिश्चित गर्न सकिन्छ। यदि यस्ता चुनौतीहरूलाई उचित तरिकाले सामना गरिएन भने यो सामाजिक समस्या राष्ट्रको विकास र स्थिरताका लागि ठूलो खतरा बन्न सक्छ। त्यसैले, युवा र समाज दुवैको जिम्मेवारी हो कि ड्रग्स सेवनबाट बच्न र स्वस्थ, सशक्त जीवन बिताउन सबैले मिलेर काम गर्न आवश्यक छ।

यसका साथै युवाहरू डिजिटल प्रविधिको तीव्र विकास र पहुँचको प्रभावमा छन्। मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल, र विभिन्न डिजिटल उपकरणहरूको प्रयोगले उनीहरूको जीवनशैलीमा निकै ठूलो परिवर्तन ल्याएको छ। डिजिटल प्रविधिले सूचना र ज्ञानको पहुँच सजिलो बनाएको मात्र होइन, नयाँ सृजनशीलता र अवसरहरूको पनि ढोका खोलेको छ। तर यसको साथसाथै केही चुनौतीहरू र जोखिमहरू पनि बढेका छन् जसले युवाहरूको मानसिक, सामाजिक र शैक्षिक पक्षमा असर पुर्याइरहेका छन्।

रुपन्देही जिल्लाका सरकारी विद्यालयहरूमा गरिएको अध्ययनले देखाएको छ कि करिब ३० प्रतिशत विद्यार्थीहरूमा मध्यम स्तर र पाँच प्रतिशत विद्यार्थीहरूमा उच्च स्तरको इन्टरनेट व्यसन देखिएको छ। अत्यधिक इन्टरनेट प्रयोगले उनीहरूको पढाइमा ध्यान दिन कठिनाइ बढाएको छ भने सामाजिक एकाकीपन र तनावका समस्या पनि उब्जिएका छन्। सामाजिक सञ्जालमा धेरै समय बिताउँदा उनीहरू वास्तविक जीवनका सामाजिक सम्बन्धबाट टाढा हुने र डिजिटल संसारमा मात्र सीमित हुने जोखिम बढेको छ।

डिजिटल प्रविधिको गलत प्रयोगले परिवार र विद्यालयबीचको संवादमा पनि बाधा पुर्याएको छ। मोबाइल, टिभी, अनलाइन गेम, र सामाजिक सञ्जालका कारण पारिवारिक समय घटेको छ, जसले परिवारभित्रको समझदारी र निकटता कमजोर पार्न सक्छ। अभिभावकहरू प्रायः आफ्नो बालबालिकाको डिजिटल गतिविधि अनुगमन गर्न सक्दैनन् जसले गर्दा डिजिटल सुरक्षा र साइबर अपराधको जोखिम बढ्दो छ। यसैले, तराई क्षेत्रका युवाहरूलाई डिजिटल साक्षरता सिकाउन आवश्यक छ। यसले मात्र होइन, उनीहरूलाई जिम्मेवार प्रविधि उपयोग, साइबर सुरक्षा, र डिजिटल समय व्यवस्थापनमा सचेत गराउनुपर्ने हुन्छ। विद्यालय र अभिभावकले मिलेर ‘स्क्रीन टाइम’ सन्तुलनमा जोड दिनुपर्छ ताकि युवाहरू आफ्नो पढाइ र सामाजिक जीवनलाई सन्तुलित गर्न सकून्। साथै, डिजिटल प्रविधिलाई सकारात्मक र रचनात्मक काममा प्रयोग गर्ने अभ्यासहरू बढाउनुपर्ने हुन्छ। डिजिटल प्रविधिले युवामा नयाँ सोच र सृजनशीलता विकास गर्न ठूलो योगदान पुर्याएको छ। यसले व्यवसाय, शिक्षा, मनोरञ्जन र सामाजिक संजालमा युवालाई व्यापक अवसर प्रदान गरेको छ। युवा डिजिटल प्लेटफर्ममार्फत आफूलाई अभिव्यक्त गर्न, नयाँ सीप सिक्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित भएका छन्।

तर डिजिटल संसारमा झूट र गलत सूचनाको खतरा पनि बढ्दै गएका छन्। ‘फेक न्यूज’, साइबर धम्की, अनलाइन उत्पीडन र अन्य डिजिटल अपराधहरूले युवाहरूलाई प्रभावित पार्ने खतरा बढाएका छन्। पछिल्लो समय साम्प्रदायिक विषयबस्तुहरूमा भ्रम र मिथ्या सुचना फैलाउनेमा नयाँ पुस्ता बढी सक्रिय भएको देखिन्छ। त्यसैले, डिजिटल सुरक्षा र नैतिकताको विषयलाई विद्यालय स्तरमै प्राथमिकतामा राखेर विद्यार्थीहरूलाई प्रशिक्षण दिन आवश्यक छ।
जीवनको अभिन्न हिस्साको रूपमा प्रभाव स्थापित गर्न प्रयासरत रहेको डिजिटल प्रविधिलाई सकारात्मक र जिम्मेवार तरिकाले उपयोग गर्न सिकाउनु नै दीर्घकालीन समृद्धि र सामाजिक स्थिरताको आधार हुनेछ। तराई क्षेत्रका युवाहरूले डिजिटल साक्षरता, जिम्मेवार प्रविधि प्रयोग र समय व्यवस्थापनमा दक्षता हासिल गरेर मात्र यो नयाँ युगमा सफल र सशक्त नागरिक बन्न सक्नेछन्।

दुर्व्यसनको लत र प्रविधिको प्रयोग संगै युवाहरूमा आर्थिक चिन्तालाई सम्बोधन गर्न जरुरी छ। नयाँ पुस्ताले आर्थिक रूपमा आत्मनिर्भर बन्नका लागि व्यावसायिक सीप र कला सिक्नुपर्ने अति आवश्यकता छ। परम्परागत रूपमा रोजगारी र उच्च शिक्षामा सीमित रहेका युवाहरूलाई आधुनिक युगका चुनौतीहरू र अवसरहरूसँग सामञ्जस्य गर्न व्यावसायिक तालिम र सीप विकास अत्यावश्यक छ। कृषि, सिलाई, कफी–चिया व्यवसाय, हस्तकला, डिजिटल सेवा, कन्टेन्ट राइटर, भिडियो एडिटर, चित्रकला, फोटोग्राफी, जस्ता क्षेत्रमा सीप आर्जन गर्दा मात्र उनीहरू आफ्नै पाउँमा उभिन सक्नेछन् र रोजगारीको खोजीमा विदेशिने झन्झटबाट बच्न सक्नेछन्।

खाना पकाउने, कपडा धुने, सिलाई गर्ने लगायतका पारिवारिक र घरेलु कामहरूलाई पनि व्यावसायिक रूपमा सिकाएर युवाहरूलाई आत्मनिर्भर बनाउने प्रयासको थालनी हुनुपर्दछ। विशेषगरी, यी सीपहरूले महिला युवालाई मात्र नभई पुरुषलाई पनि घरायसी काममा सहभागी गराउन मद्दत गर्छन्। यस्तो सीपले लैंगिक समानता प्रवर्द्धन गर्दै परिवारभित्र जिम्मेवारी बाँडफाँडलाई सहज बनाउँछ। उदाहरणका लागि, घरमा खाना पकाउने र कपडा धुने काममा दुवै लिङ्गको सहभागिताले परिवारमा समझदारी र सद्भाव बढाउँछ। साथै, खाना पकाउने सीपलाई व्यवसायमा परिणत गरेर स्थानीय बजारमा बिक्री गर्न सकिन्छ, जसले घरको आम्दानीमा सकारात्मक प्रभाव पार्दछ।

उच्च शिक्षा प्राप्तिका लागि विदेशिने कुरा पनि तराईका युवाहरूको जीवनमा एक प्रमुख विषय हो। तर, सबैले विदेशमा जान सक्ने अवस्था नभएकाले व्यावसायिक सीप र तालिमले युवा वर्गलाई देशमै रोजगारी सिर्जना गर्ने अवसर दिन्छ। सिलाई, डिजिटल डिजाइन, पाककलाका तालिमहरूले युवालाई दक्ष बनाएर स्थानीय उद्योग, होटल, र रेस्टुरेन्टमा काम गर्न सहज बनाउँछन्। यसले नयाँ पुस्तामा सानै देखि सृजनात्मक बनाउने र गरिबी सँग प्रेरणा दिनुका साथै तयारी अवस्थामा राख्ने गर्दछ।

विद्यालय र स्थानीय तहहरूले गुणस्तरीय व्यावसायिक तालिम र सीप विकास कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ। अभिभावकहरूले पनि आफ्नो छोराछोरीलाई यस्ता सीप सिक्न प्रोत्साहित गर्नुपर्छ। व्यावसायिक शिक्षा प्राप्त युवाहरूले मात्र आत्मनिर्भरता हासिल गर्ने होइन, आफ्नो परिवार र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्। नेपालको तराई क्षेत्रका विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न ध्यान दिनुपर्ने धेरै महत्वपूर्ण पक्षहरू छन्। शैक्षिक गुणस्तर सुधार्न विद्यालयले मात्र होइन, अभिभावक, शिक्षक र समुदायबीच समन्वयपूर्ण प्रयास आवश्यक हुन्छ। तराईका ग्रामीण तथा शहरी क्षेत्रहरूमा विद्यालय शिक्षा अझै पनि चुनौतीपूर्ण छ, जसले गर्दा विद्यार्थीको शैक्षिक विकासमा बाधा पुग्ने गरेको छ।

विद्यालयमा सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा हो शिक्षकहरूको दक्षता र समर्पण। गुणस्तरीय शिक्षा दिन सक्षम शिक्षक हुनु अनिवार्य छ। शिक्षकहरूले मात्र पाठ्यपुस्तकमा सीमित नरहँदा विद्यार्थीलाई व्यवहारिक ज्ञान, नैतिक शिक्षा र जीवनका सीपहरू सिकाउन सक्नुपर्छ। यसका लागि शिक्षकहरूको नियमित तालिम, प्रोत्साहन र आवश्यक स्रोतहरू उपलब्ध गराउन विद्यालय र शिक्षा विभागले ध्यान दिनु आवश्यक छ। अर्को महत्वपूर्ण पक्ष हो विद्यालयको पूर्वाधार र सिकाइ वातावरण। सफा, सुरक्षित र प्रेरणादायक कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला र खेलमैदान हुनु आवश्यक छ। तराईका थुप्रै विद्यालयमा आधारभूत पूर्वाधारको अभावले विद्यार्थीहरूको सिकाइमा बाधा पुगिरहेको देखिन्छ। त्यस्ता विद्यालयमा सुधार गरेर विद्यार्थीलाई अध्ययनमा रुचि जाग्ने वातावरण निर्माण गर्नुपर्छ।

विद्यार्थीलाई केवल शैक्षिक ज्ञान दिने मात्र होइन, नैतिक शिक्षा र सामाजिक सीपमा पनि विकसित गर्न विद्यालयले प्राथमिकता दिनुपर्छ। सत्य, इमानदारी, अनुशासन, सम्मानजस्ता जीवन मुल्यहरू सिकाउने कार्यक्रम अनिवार्य हुनुपर्छ। यसले जिम्मेवार र समृद्ध नागरिक बन्न सहयोग पुर्याउँछ। अभिभावकहरूको भूमिका विद्यालय शिक्षामा अत्यन्त महत्त्वपूर्ण छ। तर अभिभावकहरू जिम्मेवारीको बोध गर्न सकेका छैनन्। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अभिभावकले आफ्ना छोराछोरीलाई अध्ययनमा नियमित सहयोग गर्नुपर्छ, शिक्षक र विद्यालयसँग संवाद कायम राख्नुपर्छ। विद्यालयको उपस्थितिमा कटौती नगराउनु, गृहकार्यमा सहायता गर्नु र पढाइप्रति उत्साह जगाउनु अभिभावकका प्राथमिक जिम्मेवारी हुन्। साथै, अभिभावकले बालबालिकालाई अनुशासित, समयपालनशील र सामाजिक रूपमा उत्तरदायी बनाउन घरमा सही संस्कार र वातावरण तयार गर्नुपर्छ।

डिजिटल प्रविधि र इन्टरनेटको व्यापक प्रयोगका कारण विद्यार्थीहरूलाई व्यावसायिक र सृजनात्मक गतिविधिमा पनि प्रोत्साहित गर्नुपर्छ। अभिभावक र शिक्षकको संयुक्त प्रयासमा डिजिटल साक्षरता सिकाउन, स्क्रीन टाइम व्यवस्थापनमा सहयोग गर्ने उपायहरू खोजिराख्नु पर्दछ। यस्ता पक्षहरूबारे चर्चापरिचर्चा गर्दै आम बहसको विषय बनाउन जरुरी छ। नयाँ पुस्ताले भोगिरहेको समस्या बारे सचेत भएर नै अभिभावकका साथै राज्यका हरेक पक्षले सोच्नु पर्ने बेला आइसकेको छ। अन्यथा हाम्रै अगाडी गरिबीको संकट देखिनुका साथै नैतिक विचलन र सभ्यताको पहिचान नै खतरामा गएको देख्न बाध्य हुनुपर्दछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै