वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला अधिवेशनबाट लोकप्रिय मतसहित निर्वाचित भएकी तुलसा पौडेल अधिकारीलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।
पार्टीले अधिकारीलाई जिल्ला कोषाध्यक्ष तथा कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जनाएको छ।
हालै सम्पन्न रास्वपा पर्साको जिल्ला अधिवेशनमा महिलातर्फ सर्वाधिक मत प्राप्त गर्दै लोकप्रिय बनेकी अधिकारीलाई पार्टी नेतृत्वले थप विश्वास व्यक्त गर्दै दोहोरो जिम्मेवारी प्रदान गरेको हो।
रास्वपा पर्साका एक पदाधिकारीका अनुसार महिलातर्फ सबैभन्दा बढी मत प्राप्त गरेकी अधिकारीलाई संगठनको आर्थिक व्यवस्थापनसँगै कार्यवाहक सभापतिको जिम्मेवारीसमेत दिइएको छ।
जिम्मेवारी प्राप्त गरेपछि अधिकारीले पार्टीले आफूलाई गरेको विश्वासप्रति धन्यवाद व्यक्त गरेकी छन्।
उनले जिल्ला सभापति हरि पन्तलगायत पार्टी नेतृत्वप्रति आभार प्रकट गर्दै पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउन आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।
रास्वपा पर्साले महिला नेतृत्वलाई अग्रपंक्तिमा ल्याउने उद्देश्यअनुरूप अधिकारीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको जनाएको छ।
पार्टीभित्र उनको सक्रियता, संगठन विस्तारमा देखाएको योगदान तथा अधिवेशनमा प्राप्त जनसमर्थनलाई आधार बनाएर उक्त जिम्मेवारी दिइएको नेताहरूको भनाइ छ।