वीरगन्ज । विशेष अदालतबाट सफाइ पाएपछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह बुधबार तीन महिनापछि कार्यालय फर्किएका छन् ।
कार्यालय पुगेका सिंहले धार्मिक विधिअनुसार पूजापाठ गरेपछि पुनः मेयरको जिम्मेवारी सम्हालेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाउँदै झुटा विवरण तथा कागजातका आधारमा नागरिकता दिलाएको आरोपमा मुद्दा दायर भएपछि सिंह स्वतः निलम्बनमा परेका थिए ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहसहित मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको थियो ।
फैसलापछि उनको निलम्बन फुकुवा भएको हो ।
बुधबार महानगर कार्यालय पुगेका सिंहलाई कर्मचारी तथा समर्थकहरूले स्वागत गरेका थिए ।
कार्यकक्षमा पूजापाठ गरेपछि उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि कर्मचारी तथा समर्थकहरूलाई सम्बोधन गर्दै सिंहले आफूविरुद्ध व्यक्तिगत रिसइबी र राजनीतिक प्रतिशोधका कारण आरोप लगाइएको दाबी गरे ।
विशेष अदालतको फैसलाले आफूलाई न्याय दिएको भन्दै उनले खुसी व्यक्त गरे ।
उनले वीरगन्जलाई ‘वैभव वीरगन्ज’ बनाउने अभियान आफूले अघि बढाइरहेको र उक्त अभियानलाई रोक्न खोज्नेहरूबाट आफूलाई दुःख दिइएको दाबी गरे ।
सिंह निलम्बनमा परेपछि महानगरको कार्यवाहक नेतृत्व उपमेयर इम्तियाज आलमले सम्हाल्दै आएका थिए ।
विशेष अदालतको फैसलापछि सिंह पुनः मेयरको जिम्मेवारीमा फर्किएका हुन् ।