वीरगन्ज । पर्साको वीरगन्जमा भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ ।
वीरगन्ज महानगरपालिका–१५ मा सडक छेउमा रोकिराखेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय कारबाट बुधबार राति सशस्त्र प्रहरीले हतियार बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी मोहन क्षेत्रीका अनुसार सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा कारमाथि ‘सप्राइज चेकिङ’ गरिएको थियो ।
सो क्रममा कारभित्र लुकाएर राखिएको अवस्थामा दुई थान सिक्सर, दुई थान कटुवा पेस्तोल र ६ राउन्ड गोली फेला परेको हो ।
हतियार बरामद भएपछि सशस्त्र प्रहरी टोलीले कारसहित पेस्तोल र गोलीलाई नियन्त्रणमा लिएको थियो ।
बरामद हतियार र गोली तथा भारतीय कारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
कार कसको हो, हतियार कहाँबाट ल्याइएको थियो र कहाँ लैजाने तयारी थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।