ट्रेन्डिङ

रास्वपा पर्साको नेतृत्वका लागि सांसदबीच भिडन्त, सभापतिमा हरि पन्त र सुशिल कानु आमनेसामने

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा जिल्ला सभापति पदका लागि दुई सांसदबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।

रास्वपा पर्साको जिल्ला सभापति पद हात पार्न प्रतिनिधिसभा सदस्यद्वय हरि पन्त र सुशिलकुमार कानु चुनावी मैदानमा उत्रिएका छन्।

रास्वपा निर्वाचन कार्यालय पर्साका अनुसार दुवैले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन समितिका अनुसार दुवै सांसदले आफ्नै प्यानलसहित निर्वाचनमा सहभागिता जनाएका छन्।

यसले रास्वपा पर्साको नेतृत्व चयनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवार आफ्नो पक्षमा मत माग्न सक्रिय बनेका छन्।

उनीहरूले कार्यकर्तासँग भेटघाट, छलफल तथा सार्वजनिक अपिलमार्फत समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

रास्वपा निर्वाचन कार्यालय पर्साले सार्वजनिक गरेको कार्यतालिका अनुसार सोमबार बिहान पौने ९ बजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको थियो।

जिल्ला सभापतिसहित विभिन्न पदका लागि उम्मेदवारी दर्ता सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार मनोनयन दर्तापछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो १ बजेदेखि मतदान सुरु हुनेछ।

जिल्ला नेतृत्वका लागि दुई सांसद नै आमनेसामने भएपछि रास्वपा पर्साको निर्वाचनलाई कार्यकर्ताले प्रतिष्ठाको प्रतिस्पर्धाका रूपमा हेरेका छन्।

अब पार्टीको जिल्ला नेतृत्व कसको हातमा पुग्छ भन्ने विषयले पर्साको राजनीतिक वृत्तमा विशेष चासो पाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै