वीरगन्ज । भुटानमाथि गोलको विशाल वर्षा गर्दै नेपाली महिला यू–२० फुटबल टोली साफ महिला यू–२० च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा शनिबार सम्पन्न खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालको जितमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरे। समीक्षा मगर र कुसुम खतिवडाले पनि समान १–१ गोल थपेका थिए। यस जितसँगै नेपालले ५ खेलबाट १२ अंक जोड्दै आयोजक बंगलादेशलाई गोलअन्तरमा पछि पारेको छ। नेपालले हालसम्म ३० गोल गर्दै ४ गोल खाएको छ, जबकि बंगलादेशले १९ गोल गर्दै ४ गोल खाएको छ ।
एक खेल कम खेलेको बंगलादेशको पनि १२ अंक छ। शनिबार नै बंगलादेश र श्रीलंकाबीचको खेलपछि अंक तालिकामा फेरबदल आउने सम्भावना छ। पहिलो खेलमा श्रीलंकालाई ९–१ ले पराजित गरेको बंगलादेशले पुनः शीर्ष स्थानमा फर्किने अपेक्षा गरिएको छ। यदि यसो भएमा सोमबार हुने नेपाल र बंगलादेशबीचको खेलले च्याम्पियनसिपको उपाधि छिनोफानो लगाउनेछ।
नेपालले खेलको ४४औं सेकेन्डमै मीना देउवाको गोलमार्फत अग्रता लिएको थियो। नवौं मिनेटमा समीक्षा मगरले अग्रता दोब्बर पारिन्। त्यसको तीन मिनेटपछि नै मीनाले व्यक्तिगत दोस्रो गोल गरिन्। २३औं मिनेटमा पूर्णिमा राईले गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन्।
पहिलो हाफको इन्जुरी समयमा पूर्णिमाले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरिन्। इन्जुरी समयको अन्तिम सेकेन्डमा पूर्णिमाले ह्याट्रिक पूरा गर्दै जारी प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्याइन्। यो उनको दोस्रो ह्याट्रिक हो, यसअघि उनले भुटानविरुद्धको ५–१ को जितमा पनि ह्याट्रिक गरेकी थिइन्।
दोस्रो हाफमा पनि नेपालको गोल यात्रा रोकिएन। ६४औं मिनेटमा वैकल्पिक खेलाडी कुसुम खतिवडाले गोल गर्दै अग्रता ७–० मा पुर्याइन्। त्यसलगत्तै मीना देउवाले पनि ह्याट्रिक पूरा गरिन्, जुन उनको पनि जारी प्रतियोगिताको दोस्रो ह्याट्रिक हो। यसअघि उनले श्रीलंकाविरुद्धको ७–० को जितमा ह्याट्रिक गरेकी थिइन्। योसँगै मीनाको गोल संख्या ७ पुगेको छ।