ट्रेन्डिङ

टी–२० विश्वकप छनोट : क्यानद्वारा ३२ खेलाडी घोषणा, आदिलको पुनरागमन

वीरगन्ज । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी–२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ।

आज सार्वजनिक गरिएको सूचीमा सबैभन्दा चासोको विषय अलराउन्डर मोहम्मद आदिल आलमको पुनरागमन बनेको छ।

२०७९ मा क्यानले आयोजना गरेको टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित गरिएका आदिल आलमले अदालतबाट सफाइ पाएपछि राष्ट्रिय टोलीमा फर्कने बाटो खुलेको हो। अदालतले आदिलसहित फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरलाई दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो।

त्यसपश्चात्, क्यानको इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी प्रतिबन्ध फुकुवा गर्न सिफारिस गरेको थियो। सोही सिफारिसबमोजिम २०८२ वैशाख २१ गतेदेखि लागू हुने गरी उनको प्रतिबन्ध फुकुवा भएको थियो। प्रतिबन्ध फुकुवापछि आदिल पहिलोपटक बन्द शिविरमा समेटिएका हुन्, जसले राष्ट्रिय टिममा उनको कमब्याकको ढोका खोलेको छ।

पछिल्लो समय राष्ट्रिय टिमबाट हटाइएका कुशल मल्ल र सन्दीप जोरालाई पनि क्लोज क्याम्पमा राखिएको छ। यसका साथै, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकार लगायतका युवा खेलाडीहरूले पनि यसपटक बन्द शिविरमा मौका पाएका छन् ।

नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी–२० विश्वकप छनोट खेल्दैछ। यस प्रतियोगितामा नेपाल समूह २ मा परेको छ र समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा कुल ९ वटा टोली सहभागी हुनेछन्। सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै