जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिमा विचलन आएका कारणले जनतामा नेतृत्वप्रति आक्रोश र निराशा पलाएको बताएका छन् ।
जनकपुरधाममा मंगलबार नेकपा एकीकृत समाजवादी धनुषाको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले वर्तमान व्यवस्था प्रतिको समर्थनमा कुनै कमी नभएको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिंगो कम्युनिष्ट पार्टी नै बदनाम भएकाले यसलाई चिर्नका लागि पनि जनताको पक्षमा काम गर्न आग्रह गरे ।
उनले पतञ्जली जग्गा प्रकरण बारेमा कही कतै र कुनै पनि किसिमले संलग्न नरहेकाले आफू जहिले पनि नबिराउनु र नडराउनु भन्ने पक्षमा रहेर काम गर्ने व्यक्ति भएकाले सत्यको विजय हुने विषयमा आफू पूर्व विश्वस्त रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘मैले गल्ती गरेको छु भने मेरो शिर निहुरिने छ, देश र जनताको सेवा र समाजमा रहेको विकृति विसंगति राजनीतिमा रहेको विकृति विसंगतिको अन्त्यका लागि अब सधैँ लागि रहने र मलाई अदालतमाथि विश्वास छ ।’
अदालत न्यायको पक्षमा खडा हुने भन्दै उनले प्रत्येक वकिललाई धन्यवाद दिए ।
अध्यक्ष नेपालले भने, ‘ अदालत न्यायको पक्षमा खडा हुन्छ, मलाई साथ र सहयोग गर्नु हुने सबै अधिवक्तालाई म धन्यवाद दिन चाहन्छु । हरेक पार्टीका अधिवक्ताले आफूलाई साथ र सहयोग गरेको छ ।’
अध्यक्ष नेपालले भने, ‘मेरो बारेमा कुनै पनि किसिमको गलत रहेको छु भनि आधार र प्रमाण छैन, कुनै कानुनी आधार छैन, संवैधानिक आधार पनि छैन । योग गर्ने राम्रो संस्था छ । सामूहिक निर्णय अनुसार योग संस्थालाई जग्गा बिक्री गरिएको हो । एक टुक्रामा पनि कानुन विपरीत कार्य भएको छैन । जग्गासम्बन्धी सम्पूर्ण कारबाही प्रक्रिया पुर्याएर पतञ्जली संस्था आफैले काम गरेको छ ।’
उनले आफूलाई विना आधार र विना प्रमाण तथा संवैधानिक आधार विना नै आफूमाथि लाञ्छना लगाइएको दाबी गरे ।
पतञ्जली संस्थाले देशमा दर्जनभन्दा बढी अस्पताल खोलेर सेवामूलक काम गरिरहेकाले सो संस्थाको नाममा कहिकतैले कसैले गलत कार्य नगरेको दाबी अध्यक्ष नेपालले गरे ।
उनले अहिलेदेखि मिसन ०८४ अनुसार पालिका, वडावडामा आफ्नो प्रभाव बढाउने, पार्टी पक्षमा जनमत निर्माण गर्न, इमान्दार र राम्रो व्यक्तिलाई उम्मेदवार बनाउने, समाज, जनताको साथ र सहयोगको आवश्यकता रहेको औल्याए ।
अध्यक्ष नेपालले भने, ‘पार्टी संचालन र पार्टी निर्माणका लागि बैठक हुनु अनिवार्य छ । घरदेखि टोल, समाज, महिला, किसान, खेलकुदलगायत विभिन्न तरिका अपनाएर विभिन्न अभियान संचालन गरी पार्टीलाई बलियो बनाउ ।’
उनले विगतको समीक्षा गरी पार्टी संचालनको लागि कार्ययोजना निर्माण गरी अघि बढ्न अपील गरे । उनले भने, ‘पार्टीको इज्जत र प्रतिष्ठाको जिल्लाको रुपमा धनुषा जिल्ला हो ।’
उनले सरकार र प्रहरी प्रशासनको व्यवहारमाथि प्रश्न उठिरहेकाले यसतर्फ पनि गम्भीर हुनुपर्ने बताए ।