वीरगन्ज । एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटमा नेपाली टोलीले लगातार तेस्रो जित हासिल गर्दै शानदार प्रदर्शन जारी राखेको छ।
प्रसिद्ध जैसीको धमाकेदार शतक र कप्तान बिपिन प्रसाद शर्माको उत्कृष्ट बलिङको सहयोगमा नेपालले इन्डोनेसियामाथि ३७० रनको विशाल अन्तरले जित दर्ता गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रनको विशाल योगफल खडा गर्यो। यो नेपालको उमेर समूहदेखि सिनियर टोलीले ५० ओभरको प्रतियोगितामा बनाएको सर्वाधिक योगफल हो।
नेपालको ब्याटिङमा ओपनिङ ब्याटर प्रसिद्ध जैसीले ११४ बलमा १३२ रनको शतकीय पारी खेले, जसमा १५ चौका र १ छक्का सामेल थियो। उनलाई अर्का ओपनर परिमार्जन यादवले २८ बलमा ७१ रनको विस्फोटक पारी खेल्दै दरिलो साथ दिए। यादवले ४ चौका र ८ छक्का प्रहार गरे।
जैसी र यादवले पहिलो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए। त्यसपछि रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन बनाए भने जोय थापाले ४१ बलमा ५७ रन जोडे। इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए।
नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा मात्र ५० रनमा अलआउट हुन पुग्यो। इन्डोनेसियाका लागि कविन नीरजले सर्वाधिक १५ र दिवित नन्दाले १४ रन बनाए।
नेपालका कप्तान बिपिन प्रसाद शर्माले ७.३ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चेर ६ विकेट लिँदै इन्डोनेसियाको ब्याटिङ क्रमलाई ध्वस्त पारे। शुभम खनाल र सुगम बुढाथोकीले १–१ विकेट लिए।
समूह ‘ए’ मा रहेको नेपालले यस जितसँगै हालसम्म खेलेका तीनवटै खेल जितेर ६ अंक जोड्दै अंकतालिकामा शीर्षस्थानमा पुगेको छ। नेपालले यसअघि सिंगापुरलाई ६ विकेटले र जापानलाई ९ विकेटले पराजित गरेको थियो।
यस समूहमा नेपालभन्दा एक खेल बढी खेलेको सिंगापुर ४ खेलबाट ३ जितसहित ६ अंकमा दोस्रो स्थानमा छ। जापान र इन्डोनेसियाको २–२ अंक छ भने भुटान अंकविहीन छ। नेपालले अब आफ्नो अन्तिम समूह चरणको खेल भुटानसँग खेल्नेछ। समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।