जनकपुरधाम । मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँ खर्च गरेर मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता बिहीबारदेखि शुरु गर्दैछ । तर सो प्रतियोगिताको पुरस्कार राशी सुनेर सात वटै प्रदेशबाट सहभागी भएका खेलाडीहरुले भने घुमाउरोपाराले असन्तुष्टि जनाएका छन् ।
असार मसान्तमा हतारहतारमा हुन लागेको मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता आफैँमा शंकास्पद रहे पनि तामझामसहित गरिने सो प्रतियोगितामा दुरदराजबाट आएका खेलाडीको समेत सम्मान गर्ने मानसिकता मधेश प्रदेश सरकारको नरहेको टिप्पणीसमेत हुन थालेको छ ।
बिहीबारदेखि शुरु हुने सो प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टिम सहभागी जनकपुरधाम आइपुगेको आयोजकले जनाएको मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले जानकारी दिए ।
परिषद्का सदस्य सचिव कानुले प्रत्येक प्रदेशबाट १२ जनाको दरले ८४ जना खेलाडी सहभागी हुने बताए । मधेश प्रदेशको मौलिकतालाई चिनाउने खेल भएकाले यो प्रतियोगिता महत्वपूर्ण रहेको बताए । उनले मधेश सुगम ठाउँ रहेकाले खेलकुदलाई जोड्यो भने खेलकुदको मार्फतले राष्ट्रको सम्पतिको रुपमा धेरै खेलाडी उत्पादन गर्न सकिने बताए ।
सो प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार रुपैयाँ, दोस्रो हुने टोलीलाई २० हजार रुपैयाँ र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने सदस्य सचिव कानुले बताए ।
उनले कार्यविधिका कारण पुरस्कार राशी बढाउन नमिल्ने स्पष्ट पारे । अन्तरप्रदेश स्तरको प्रतियोगिता गर्दा प्रथम, दोस्रो र तेस्रोलाई क्रमश २५ हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था कार्यविधिमै उल्लेख रहेको उनको भनाइ छ । उनले यसका अतिरिक्त खेलाडीले कार्यविधि अनुसार ५ दिनको १२ सय देखि १६ सयसम्म भत्ता पाउने बताए ।
कानुन अनुसार खेलाडीको दुबै तर्फको भाडा, आउने–जाने दुई दिन र तीन दिन प्रतियोगिता खेल्ने गरी ५ दिनको भत्ता पाउने बताए। सदस्य सचिव कानुले भने अनुसार प्रत्येक खेलाडीले १६ सयको दरले भत्ता पाएपनि ८४ जना खेलाडीमा ६ लाख ७२ हजार मात्र खर्च हुन्छ ।
सो प्रतियोगितामा ८४ जना खेलाडीबाहेक सहभागी सातवटै प्रदेश टिमका प्रशिक्षक तथा व्यवस्थापक गरी १४ जना, सहभागी निर्णायक, अफिसियल, संघ प्रतिनिधि स्वयंसेवक ५२ जना सहभागी रहने आयोजकले जनाएको छ ।