रौतहट । जिल्लाको मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३९ करोड ५० लाख रुपैयाँको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहको गृहनगर मौलापुरले यस वर्ष पनि ‘शून्य कर’ नीतिलाई निरन्तरता दिँदै देशकै पहिलो कर नलिने नगरपालिकाको रूपमा आफ्नो पहिचान कायम गरेको छ।
आज आयोजित नगर सभा एवम् ९औँ बजेट अधिवेशनको उद्घाटन गर्दै आजपा अध्यक्ष साहले देशले लोकतान्त्रिक बाटो बिराएको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए। उनले कांग्रेस र एमालेको वर्तमान गठबन्धनलाई ‘अलोकतान्त्रिक, अप्राकृतिक र अनैतिक’ करार गर्दै यसले जनतामा निराशा बढाएको बताए।
शिक्षामा मौलापुरको फड्को : ४० प्रतिशत भन्दा बढी बजेट विनियोजन
मौलापुर नगरपालिकाले हरेक वर्षझैँ यस वर्ष पनि शिक्षा क्षेत्रमा सर्वाधिक बजेट विनियोजन गरेको छ। कूल बजेटको ४० प्रतिशतभन्दा बढी रकम शिक्षामा छुट्याइएको नगर प्रमुख रिनाकुमारी साहले जानकारी दिइन् । गुणस्तरीय शिक्षा, साक्षरता अभियान, उच्च शिक्षा र प्राविधिक शिक्षामा लगानी गर्दै मौलापुर शिक्षाको क्षेत्रमा देशभरकै लागि एउटा मोडेल बन्दै गएको छ। यसअघि देशभर उत्कृष्ट काम गरेवापत पोखरामा आयोजित एक कार्यक्रममा नगरपालिका सम्मानित समेत भएको थियो।
फ्री पानी, फ्री बिजुली र नगर शिक्षक–चिकित्सकको अवधारणा
मौलापुर नगरपालिकाले ‘शून्य कर’ नीतिलाई निरन्तरता दिँदै जनतालाई ‘फ्री पानी’ र ‘फ्री बिजुली’ जस्ता आधारभूत सेवाहरू उपलब्ध गराएको छ। नगर प्रमुख साहले ‘हामी शासक होइनौं, सेवक हौं, जनतासँग लिने होइन दिने हो’ भन्दै नगर प्रहरीको सट्टा नगर शिक्षक र नगर चिकित्सक राखेर जनतालाई बढीभन्दा बढी सेवा दिने आफ्नो प्रतिबद्धता दोहोर्याइन् । आगामी आर्थिक वर्षभित्र नगरलाई कच्ची सडक मुक्त घोषणा गर्ने लक्ष्य समेत लिइएको छ।
सामाजिक सुरक्षा र विकासमा निरन्तरता
मौलापुरले लोकप्रिय कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। ‘छोरीसँग मेयर कार्यक्रम’ अन्तर्गत बिहेको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग गर्ने व्यवस्था कायम राखिएको छ। यसका साथै, नमुना एकीकृत दलित बस्ती निर्माण र धुवा चुलो मुक्त अभियानलाई पनि प्राथमिकता दिइएको छ।
नगर प्रमुख साहले आगामी आर्थिक वर्षमा पुरातात्विक महादेव मन्दिर, मौलापुर शहरीकरण, एकीकृत नमुना बस्ती विकास, मोडेल प्राविधिक शिक्षालयको थप व्यवस्थापन लगायतका नगर गौरवका आयोजनाहरूलाई निरन्तरता दिने बताइन् । साथै, ‘हर हातमे हुनर’, ‘साक्षरता अभियान’, ‘निशुल्क बिजुली पानी’ र ‘बेटीके साथ मेयर’ जस्ता लोकप्रिय कार्यक्रमहरूलाई निरन्तरता दिँदै नवीनतम प्रविधि र गुणस्तरयुक्त शिक्षाका लागि विद्यालयहरूमा स्मार्ट कक्षा सहितको भौतिक तथा मानवसंसाधन थप व्यवस्था गर्ने योजना रहेको उनले स्पष्ट पारिन् ।
वर्तमान समयको माग अनुसार नगर कार्यपालिकाको कार्यालय तथा यस मातहतका शाखा, वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझ छिटो छरितो र व्यवस्थित गर्ने, स्वास्थ्य संस्थाहरूलाई थप व्यवस्थित गर्ने, बेरोजगारहरूलाई स्वरोजगार बनाउने र कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाउने नीति अवलम्बन गरिएको छ। नगरपालिकाले नयाँ एकीकृत दलित बस्ती निर्माण गरी झोपडी मुक्त नगर निर्माणको अभियानमा थप कार्यक्रम सञ्चालन गर्नुका साथै सुशासनलाई विशेष प्राथमिकता दिने नीति लिएको छ।