वीरगन्ज । पर्साको जीराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।
आइतबार वडा नम्बर ३ को कार्यालयको सभा हलमा आयोजित १५औं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन्।
उपाध्यक्ष चौधरीका अनुसार, यस बजेटको स्रोत संघीय सरकारको वित्तीय समानीकरणबाट ९ करोड, संघीय सशर्तबाट १८ करोड, राजस्व बाँडफाँटबाट ८ करोड र आन्तरिक स्रोतबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
जीराभवानी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। पालिकाभित्रका दुईवटा माध्यमिक विद्यालयमा सञ्चालित कक्षा १२ सम्मको शिक्षालाई निरन्तरता दिइएको छ।
भौतिक पूर्वाधारतर्फ, गाउँपालिकाको प्रशासनिक भवन आगामी फागुन महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै, आगामी कार्तिक र मंसिर महिनाभित्र १० शैयाको आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना पनि बजेटमा समेटिएको छ।
कृषि क्षेत्रको विकासमा विशेष जोड दिँदै, उपाध्यक्ष चौधरीले किसानहरूले उत्पादन गरेका अन्नबाली तथा अन्य बालीको बजार व्यवस्थापन तथा मूल्य व्यवस्थापनका लागि विभिन्न कार्यक्रम ल्याउने नीति रहेको बताइन्। रासायनिक मल, उन्नत जातका बीउ, कीटनाशक औषधिलगायतका कृषिजन्य पदार्थ आवश्यकताको समयमा उपलब्ध गराउने र उत्पादित बालीको उचित मूल्य सुनिश्चित गर्ने नीति लिइएको छ।
प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले सिँचाइका लागि कृषि विद्युतीकरण गर्न प्रदेश सरकारसँग थप ५ करोड रुपैयाँ माग गरिएको र पालिकाका सम्पूर्ण किसानहरूलाई सिँचाइमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिए। बढ्दो खडेरीका कारण किसानहरूले मार खेपिरहेको अवस्थामा पालिकाले नदी, खोलामा समेत सिँचाइ आयोजना ल्याउने तयारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।