सप्तरी । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले सहिदहरूको सम्मान हुने गरी सरकारका कामहरूलाई अगाडि बढाइरहेको बताएका छन् ।
बुधबार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–३ को वडा सभालाई सम्बोधन गर्दै मन्त्री लेखीले वीर सहिदहरूको योगदानलाई सम्झनु र सम्मान गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे ।
‘सहिदहरूप्रति कृतज्ञता व्यक्त गर्दै मधेस सरकारले सहिद स्मृति भवन, स्मृति पार्क तथा सामुदायिक भवनजस्ता संरचना निर्माणको योजना अघि सारेको छ,’ मन्त्री लेखीले बताए ।
गृहमन्त्री लेखीले सहिद परिवारका लागि पनि विशेष योजना तथा कार्यक्रमहरू प्रदेश सरकारले अघि बढाएको जानकारी दिए । सभामा उनले जनप्रतिनिधिका रूपमा आफू निर्वाचित भएदेखि नै गाउँ–टोलमा पुगेर सल्लाह, सुझाव लिँदै जनभावनालाई प्राथमिकता दिँदै आएको बताए ।
‘जसले जितेपछि जनतालाई सम्झिँदैनन्, उनीहरूबाट जनता निराश छन, तर म भने निरन्तर जनताको बीचमा छु,’ मन्त्री लेखीको भनाइ थियो।
आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि सप्तरी क्षेत्र नंम्बर १ (क) का हरेक पालिकाका प्रत्येक वडामा दुईदेखि आठवटा योजना बजेटसहित अगाडि बढाउने योजना रहेको जानकारी दिए ।
सप्तकोशी नगरपालिकाको वडा नम्बर–३ मा आयोजित सभामा गृहमन्त्री लेखी प्रमुख अतिथि थिए । सो अवसरमा नगरप्रमुख कृष्णप्रसाद ढकाल, उपप्रमुख रिता चौधरी, कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा, वडा सदस्य मनु चौधरी, वडा नम्बर– ३ का अध्यक्ष देवकान्त गोजेवार तथा वडा नम्बर–१ का अध्यक्ष रोहिणी पोखरेलको समेत उपस्थिति थियो ।