जनकपुरधाम । मधेश प्रदेश सरकारले आज दिउँसो आफ्नो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ।
आज अपरान्ह ४ बजे मधेश प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले यो महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यो वर्षको नीति तथा कार्यक्रम विगतका भन्दा फरक र परिणाममुखी हुने अपेक्षा गरिएको छ। विशेषगरी, कृषिलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको प्रदेश सरकारका अधिकारीहरूले जानकारी दिएका छन्।
मधेश प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने र किसानहरूको जीवनस्तर उकास्ने दिशामा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कृषि उत्पादनमा वृद्धि, आधुनिक खेती प्रणालीको विकास, सिँचाइको व्यवस्थापन र कृषि बजारको पहुँच विस्तार जस्ता विषयहरूमा यसले विशेष जोड दिने अनुमान छ।
कृषिसँगै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि प्रमुख प्राथमिकतामा राखेको छ। शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको सुनिश्चितता, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र शैक्षिक पूर्वाधार विकासमा जोड दिइने जनाइएको छ। स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउन स्वास्थ्य संस्थाको सुदृढीकरण, विशेषज्ञ सेवाको विस्तार र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामा पनि नीति तथा कार्यक्रमले विशेष ध्यान दिनेछ।
त्यस्तै, युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जना गर्न र आन्तरिक उत्पादन बढाउनका लागि विशेष योजनाहरू समावेश गरिएको छ। उद्योग, व्यापार र सेवा क्षेत्रमा लगानी आकर्षित गर्दै युवाहरूलाई स्वरोजगार बन्न प्रोत्साहन गर्ने कार्यक्रमहरू पनि यसमा समेटिएको स्रोतले बताएको छ। यसले मधेश प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने र युवा पलायन रोक्न मद्दत गर्ने विश्वास लिइएको छ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा मधेश प्रदेशको समग्र विकासका लागि दीर्घकालीन सोच र अल्पकालीन कार्ययोजनाहरू समेटिएको बताइएको छ। प्रदेश सभामा प्रस्तुत भएपछि यसमाथि विस्तृत छलफल हुनेछ र त्यसपछि सोहीअनुसार आगामी बजेट तयार गरिनेछ। यस नीति तथा कार्यक्रमले मधेश प्रदेशको विकासको दिशा निर्धारण गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ।