बारा । जीतपुर सिमरा उपमहानगरपालिकाले वडा नम्बर ५, बकुलिया गाउँ नजिकै फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) बनाउने योजना अघि बढाएपछि स्थानीय बासिन्दाहरूले कडा विरोध जनाएका छन्।
सोमबार बकुलियास्थित ब्रह्म बाबा मन्दिर प्राङ्गणमा भेला भएका सयौं स्थानीयले यो योजना कुनै पनि हालतमा स्वीकार्य नहुने घोषणा गरेका छन्। उनीहरूका अनुसार यो साइट निर्माण भएमा बकुलिया, अमाडार, बिशुलिया, फरहदवा, बेहरी र औराहासहितका विभिन्न गाउँका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुनेछन्।
स्थानीयले डम्पिङ साइटले सिमरा विमानस्थलको सुरक्षामा समेत गम्भीर खतरा निम्त्याउने चिन्ता व्यक्त गरेका छन्। फोहरको थुप्रोले चराचुरुङ्गी आकर्षित हुने र ती चराहरू विमानमा ठोक्किएर दुर्घटनाको सम्भावना बढ्ने उनीहरूको तर्क छ।
स्थानीय अधिवक्ता अभिनय गुप्ताले स्थानीय सरकारले नदीमा बगाएको फोहर सफा गर्न नसक्ने तर सारा उपमहानगरको फोहर ल्याएर बकुलियावासीलाई ‘सात पुस्तासम्म नर्कको अनुभूति’ गराउन लागेको आरोप लगाए। उनले यस कार्यविरुद्ध अदालतसम्म जाने चेतावनीसमेत दिएका छन्।
वडा अध्यक्ष दिपेन्द्र चौधरी, पूर्व वडा अध्यक्ष मोहित चौधरी, वडा सदस्य इन्दल हजरा, स्थानीय नागरिक समाजका अगुवाहरू र महिला समूहहरू यस विरोधमा एकजुट भएका छन्। वडा सदस्य इन्दल हजराले जनताको इच्छाविपरीत कसैले पनि काम गर्न खोजे कडा प्रतिकार गरिने बताए।
थारु कल्याणकारी समिति नगर समितिका सभापति राजेन्द्र चौधरीले बकुलियाका थारु समुदाय सोझासाधा भए पनि बारम्बार डम्पिङ साइटको योजना ल्याएर आफ्नो अपमान गरिएको भन्दै आक्रोश व्यक्त गरे। उनले जीतपुर र सिमरामा सबै राम्रा सरकारी कार्यालय र वित्तीय संस्था राख्ने तर बकुलियामा फोहर फाल्ने ठाउँ बनाउने सोच स्थानीय सरकारको ‘अपमान’ भएको भन्दै बेलैमा सचेत हुन आग्रह गरे।
जेठ २२ गते डम्पिङ साइटको शिलान्यास गर्ने तयारी भइरहेको बुझिएपछि स्थानीय झन् आक्रोशित भएका छन्। उनीहरूले वडा अध्यक्ष र स्थानीयलाई कुनै जानकारी नदिई यस्तो दुस्साहस नगर्न सम्बन्धित निकायलाई चेतावनी दिएका छन्। स्थानीय जनताले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएर यो कार्य तत्काल रोक्न माग गर्ने तयारी गरेका छन्।
उनीहरूले स्थानीय जनतालाई बेवास्ता गरी शिलान्यास गरिएमा उत्पन्न हुने जुनसुकै असहज परिस्थितिको जिम्मेवारी जीतपुर सिमरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।