ट्रेन्डिङ

आजको युग सूचना तथा सञ्चार प्रविधिको हो : मुख्यमन्त्री सिंह

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आजको युग सूचना तथा सञ्चार प्रविधिको युग भएको बताएका छन् ।

महोत्तरीको बर्दीबासस्थित होटल नाभ्यामा बुधबार आयोजित प्रदेश स्तरीय प्रथम सूचना प्रविधि सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री सिंहले विज्ञान र प्रबिधि नै आजको आवश्यकता रहेकाले प्रविधिको प्रयोग गर्दै व्यवसायमा आधारित खोज अनुसन्धान मार्फत विकासको फड्को मार्न सकिने कुरामा जोड दिए ।

सम्मेलनमा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले विज्ञान तथा प्रविधिको विकासले देशलाई आर्थिक समृद्वितर्फ लैजान सकिने बताए ।

सम्मेलनको अध्यक्षता गरेका मन्त्री लेखीले वैज्ञानिक आविष्कारको क्षेत्रमा नेपाललाई विकास गर्न सबैलाई विज्ञान र प्रविधिप्रति चासो बढाउन आवश्यक रहेको औल्याए । उनले अहिलेको युग सुहाउँदो दक्ष जनशक्ति, प्रविधि र पुँजीको प्रयोग मार्फत यो प्रदेशले विज्ञानको क्षेत्रमा छोटो समयमै चमत्कार गर्न सक्ने सम्भावना रहेको पनि बताए ।

गृहमन्त्रीले आधुनिक उपकरणको प्रयोग, जैविक प्रविधिको संरक्षण, विकास एवं प्रशोधन, वैकल्पिक ऊर्जा स्रोतको विकास आर्थिक विकास र समृद्विको मेरुदण्ड भएको जनाए ।

उनले भने, ‘सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा गर्नुपर्ने जरुरी छ।’

सम्मेलन मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजना तथा आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा आयोजना भएको हो ।

कन्क्लेभ(सम्मेलन)मा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तरक्रिया भएको छ ।

कार्यक्रममा छुट्टाछुट्टै सेसनमा विज्ञ वक्ताहरुले सहजीकरण र छलफल गरेको आयोजकले जानकारी दिएको छ।

सम्मेलनमा फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित  विविध विषयमा छलफल र बहस गरिएको थियो ।

मधेश प्रदेशमा केन्द्रित विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल रुपान्तरणका आइडियाहरुको शोकेश र प्रस्तुती पनि भएको  आयोजकले जनाएको छ ।

डिजिटल मधेश कन्क्लेभ २०२५ (प्रबिधि सम्मेलन २०८२) मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआइ र डेटा सुरक्षा, स्टार्टअप र इन्निभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल सञ्चालन भएका छन् ।

कन्क्लेभले आउदै गरेको आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको लागि डिजिटल तथा आइसिटी क्षेत्रलाइ प्राथमिकतामा राख्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

पहिलो पटक आयोजना भएको डिजिटल मधेश कन्क्लेभमा स्थानीय, मन्त्रालय र आइसिटी सम्वन्धि सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै