वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
गत वैशाख १४ गते बारा कलैया उपमहानगरपालिका वडा नम्बर १८ निवासी सुधिर साह कानुलाई भारतबाट अपहरण गरी वीरगन्जको एक होटलमा बन्धक बनाइ राखेको अवस्थामा पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । मंगलबार राति विशेष सूचनाको आधारमा छापामारी एक जना नाबालकसहित ४ जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
अपहरणमा संलग्नहरुबारे अहिले सुक्ष्म अनुसन्धान भइरहेका कारण उनीहरुको विवरण खुलाइएको छैन । उनीहरुलाई जिल्ला अदालत पर्साबाट म्याद थप गराउन प्रहरीले तयारी गरेको छ । विगत केही दिनदेखि कानु बेपत्ता रहेको अवस्थामा उनको परिवारले प्रहरीमा उजुरी दिएको थियो । परिवारको उजुरीको आधारमा खोजीकार्य गरिरहेको प्रहरीले कानुको अपहरणमा संलग्नहरुलाई वीरगन्जको ब्रह्मचौकबाट नियन्त्रणमा लिएको हो । अपहरणमा संलग्नहरु भने पर्सा जिल्ला निवासी रहेको बताइएको छ ।
अपहरमा संलग्नहरु वैदेशिक रोगजारीमा जानका लागि कानुलाई रकम दिएको बताइएको छ । वैदेशिक रोजगारीमा पनि नपठाएको र रकम पनि फिर्ता नगरेको रिसमा उनीहरुले कानुको अपरहण गरेको स्रोतको भनाई छ ।