ट्रेन्डिङ

पर्सामा लागु औषध रोकथाम सम्बन्धी तीन महिने कार्यक्रमको शुभारम्भ, सिडिओले भने– जिल्लालाई लागु औषधको महारोगबाट तपाईंहरु बचाउनुहोस

वीरगन्ज । पर्सामा आजदेखि लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी लागु औषध रोकथाम सम्बन्धी तीन महिने सचेतना अभियानको थालनी गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लालाई लागु औषध सेवनको महारोगबाट बचाउन सबैजनालाई आग्रह गरे ।

उनका अनुसार पर्सा जिल्ला लागु औषध कारोबारको ‘ट्रान्जिट हब’ बनेसंगै सेवनकर्ताको समस्या पनि विकरालरुप लिँदै गइरहेको छ । कम उमेर सानासाना बच्चाहरु पछिल्लो समय लागु औषधको सेवन बढी गरिरहेको तथ्यांक पाइएको सिडिओ अर्यालले खुलासा गरे ।

त्यहीकारण नयाँ पुस्ताका युवालाई लागु औषधको सेवनबाट बचाउँनका लागि पर्सा जिल्लामा यो अभियान थालनी गरिएको उनले प्रष्टयाए । उनका अनुसार यस्तो अभियान एक्लैले सार्थक नहुने भएकाले यसमा सबैको सहकार्यको आवश्यकता रहेको छ ।

उनी भन्छन्, ‘लागु औषधको समस्या साझा समस्या हो, त्यसैले यो एउटा निकायको प्रयासबाट नियन्त्रण सम्भव छैन । साझा प्रबिद्धताको खाँचो रहेकोले तपाईंहरुले यो अभियानमा इन्दारितापूर्वक हातेमालो गर्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै सिडिओ अर्यालले अब पालिकाको बजेट बनाउदा आ–आफ्‌नो पालिकामा लागु औषध समस्या सम्बोधनका लागि बजेट राख्न मेयर र उपमेयरलाई अनुरोध गरे । जिल्लाका सानोसानो बच्चाहरुको भविष्यको कुरा भएकोले सबै पालिका प्रमुखहरुलाई गम्भीरतापूर्वक सहयोग गर्न सिडिओ अर्यालले आग्रह गरे ।

कार्यक्रममा सहभागी वीरगन्ज महानगरका मेयर राजेशमान सिंहसहित सबै पालिका प्रमुखहरुले जिल्ला प्रशासन कार्यालयले थालनी गरेको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आर्थिक मद्दतदेखि लिएर अन्य नीतिगत पनि सहयोग पालिका प्रमुखहरुले लिखितरुपमा प्रतिबद्धता जनाएका छन् । उद्घाटनशत्रमा जिल्ला प्रहरी कार्यालयले पर्सा लागु औषध कारोबारको हब बन्दै गएको तथ्यांक प्रस्तुत गरेको थियो ।

पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले लागु औषध सेवन तथा कारोबारको अवस्थाबारे विवरण प्रस्तुत गर्दै पछिल्लो समय तीनवटा पालिका बढी लागु औषधको चपेटामा परेको प्रष्टयाएका थिए ।

पटेर्वासुगौली, जगरनाथपुर र ठोरी गाउँपालिका पछिल्लो समय लागु औषध सेवनकर्ता र ट्रान्जिटको हब बनेको तथ्यांक सार्वजनिक गरेका थिए । प्रहरीका अनुसार पर्सामा यो वर्ष मात्रै पर्सामा लागु औषधका २२० वटा मुद्दा दर्ता छन् ।

कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख प्रधुमन चौहान, पटेर्वासुगौली गाउँपालिका प्रमुख दिनेश चौधरीसहित बहुदरमाइका उपमेयर सुष्मा कुशवाहा, विन्दवासिनी गाउँपालिकाका ज्योति चौरसिया, गोकुली रेग्मी, रुबि ठाकुर लगायतको सहभागीता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै